भूकम्प प्रभावित क्षेत्रका दुई हजार बिद्यार्थीलाई ६५ लाखको शैक्षिक सामाग्री वितरण

मंगलबार, वैशाख ११, २०८१

रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्र सानीभेरी गाउँपालिका क्षेत्रका करिब दुई हजार बिद्यार्थीलाई ६५ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ । युनिसेफद्वारा सानीभेरीका एक हजार ९९६ बालबालिकालाई ६५ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो । 

सानीभेरी गाउँपालिका भित्रका ४५ वटा विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । मंगलबार सानीभेरी गाउँपालिका वडा नम्वर १ को भेरी दोभान मावि चाईनाबगरमा एक कार्यक्रमका बीच उक्त शैक्षिक सामाग्री विद्यालयहरुलाई हस्तान्तरण गरिएको हो । 

युनिसेफको आर्थिक सहयोगमा करिब ६५ लाख बराबरको शैक्षिक सामाग्री सबै विद्यालयका कक्षा १ देखि ३ सम्मका बालबालिकालाई हस्तान्तरण गर्ने गरी विद्यालयलाई सामाग्री उपलब्ध गराइएको युनिसेफका शिक्षा अधिकृत फर्सराम पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार युनिसेफले भूकम्पबाट विद्यालयको भौतिक पुर्वाधार क्षती भएको अवस्थामा कक्षाकोठा र डेस्क बेन्च नभएको अवस्थालाई मध्यनजर गरी जुनसुकै ठाउँमा बसेर पनि पढ्न र खेल्न सक्ने प्रकारका  बहुउपयोगी शैक्षिक सामाग्री वितरण गरेको हो । उहाँले भूकम्प गए देखिनै भूकम्प प्रभावित क्षेत्रमा विभिन्न प्रकारका सहयोग गरिरहेको र अझै पनि आवश्यकता अनुसार सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

WhatsApp-Image-2024-04-23-at-20.45.24_aab17f57-1713887176.jpg
बालबालिकाले बोक्ने झोलालाई फोल्ड गरेर सानो खालको टेबल बनाउन सकिने र झोलामा पढ्नको लागि किताब कापी र कलरफूल पेन्सिल, खेल्नका लागि कलरफुल लुडो, सानो बल तथा डोरी लगाएतका सामाग्री रहेका छन् । 

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षकहरुलाई उक्त शैक्षिक सामाग्रीको प्रयोग गर्ने विधि पनि सिकाइएको थियो । 

सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले युनिसेफले भूकम्पबाट प्रभावित बनेका विद्यालय र बालबालिकालाई यति ठुलो सहयोग गरेकोमा आभार सहित धन्यबाद व्यक्त गर्नुभयो ।

विपत्तीको समयमा पालिका सरकारलाई हातेमालो गर्ने सहयोगी संघसंस्थाले घाउँमा मल्हम लगाइरहेको र विशेष गरी विद्यालय र बालबालिका क्षेत्रमा युनिसेफले गरेको कार्य अत्यन्तै स्रहानीय रहेको बताउनुभयो । अध्यक्ष विष्टले सबै विद्यालयका शिक्षकहरुलाई प्राप्त गरेको शैक्षिक सामाग्रीको सहि प्रयोग गर्न निर्देशन समेत दिनुभयो । 

भेरी दोभान माध्यमिक विद्यालय चाइनाबगरको प्रांगणमा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रमको अध्यक्षता सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको रहेको थियो भने उपाध्यक्ष कमला रोका पुन, सामाजिक विकास समितिका संयोजक शेरबहादुर खड्का, युनिसेफका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, ४५ वटा विद्यालयका प्रधानाध्याक तथा शिक्षकहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बालअधिकार अधिकृत मानबिर ओलीले गर्नुभएको थियो ।   

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्