नक्कली भूकम्पपीडित विरुद्ध उजुरी दिन आग्रह

आइतबार, वैशाख ९, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नक्कली रूपमा भूकम्पपीडित बनेर अस्थायी आवास अनुदान लिएको भए त्यस्ताका विरुद्ध उजुरी गर्न आग्रह गरेको छ । 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित बनेकाहरुको लाभग्राही कायम गर्ने क्रममा नक्कली पीडित बनेर लाभग्राही कायम भएको भए स्थानीय सरकारलाई सूचना दिन तथा उजुरी गर्न नगरपालिकाले अनुरोध गरेको हो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले नक्कली लाभग्राही कायम हुन नदिन नगरपालिकाले सचेततापूर्वक काम गरिरहेको र पीडितको स्वघोषणा पश्चात नक्कली भूकम्पपीडित बनेर लाभग्राही कायम भएको भएमा उजुरी दिन आह्वान गर्नुभयो । उहाँका अनुसार नगर कार्यपालिकाको गत चैत्र २८ गते बसेको बैठकबाट पनि उजुरी दिन आग्रह गर्ने निर्णय भएको छ । 

बैठकले लाभग्राहीका सम्बन्धमा कुनै गुनासो भए लिखित उजुरी दिनुका साथै कार्यविधिबमोजिम वास्तविक लाभग्राही भए, नभएको जाँचबुझ गरेर मात्र दोस्रो किस्ताको अनुदानको लगि सिफारिस गर्ने निर्णय गरेको छ । 

अनुदान रकमको सही सदुपयोगका लागि नगर कार्यपालिका बैठकमा समेत निर्णय हुँदै आएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालका अनुसार कार्यविधि विपरीत अनुदान प्राप्त गरेका दुई जनाले अनुदान रकम नगरपालिकामा फिर्ता समेत गर्नुभएको छ ।  वडा नम्वर २ र ३ का एक-एक जनाले नगरपालिकाको आग्रहलाई स्वीकार गरी अस्थायी आवास निर्माणका लागि लिएको रकम फिर्ता गरेका छन् । 

कार्यविधि विपरीत हुने गरी अनुदान रकम प्रदान हुनेतर्फ सचेत रहने गरी काम गर्न सरोकारवाला सबैलाई नगरपालिकाले अनुरोध समेत गरेको छ ।चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले कतिपयले सडक मिचेर अस्थायी आवास निर्माण गर्ने, व्यापार व्यवसाय सञ्चालनको लागि अस्थायी आवास प्रयोग हुन सक्नेतर्फ नगरपालिका सजक रहेको बताउनुभयो ।

उहाँले त्यसो भएको पाइएमा दोस्रो किस्ताको अनुदान रकम निकासा नहुने बताउनुभयो । नक्कली लाभग्राहीका कारण वास्तविक भूकम्पपीडित झन् पीडित हुने अवस्था हुने भएकोले कार्यविधि विपरीत भएको पाइएमा असुल उपर गरी कानुनी दायरामा ल्याइने समेत नगर प्रमुख बादीले जनाउनुभयो । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म जिल्लाभर ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् । यी मध्य चौरजहारी नगरपालिकामा मात्र सात हजार ५०२ जना लाभग्राही कायम भईआएको बताईन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्