चुन्बाङ गाउँ जोड्न एक साथ चार पक्कि पुल निर्माण, स्थानीयवासी खुसी

शुक्रबार, वैशाख ७, २०८१

रुकुम पूर्वको भूमे गाउँपालिका –९ चुन्बाङ जोड्नलाई चार पक्कि पुल एक साथ निर्माण सम्पन्न भएका छन् । सडक पुल निर्माण पश्चात गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम रुकुमकोटसम्म सहज यातायात सेवा हुने भन्दै स्थानियवासीहरु खुसी भएका छन् । 

सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वले चुन्बाङमा चार वटा मोटरेवल पुल निर्माण गरेको हो । चुन्बाङका विभिन्न चार स्थानमा आरसिसी पुल निर्माण गरेको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख थम प्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको चैत महिनामा चार वटा पक्कि पुलको निर्माण सकिएको हो । 

चुन्बाङ (बञ्चरे खोला) सडक पुल, च्याङचुङ खोला (लङजुला) सडक पुल, च्याङचुङ खोला (लाखर) सडक पुल र च्याङचुङ खोला (च्याङचुङ) सडक पुल तोकिएको मितिमै निर्माण भएका हुन् । यी योजना निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले तोकिएको मितिमै काम सम्पन्न गरेको कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो । 

Banchare-khola-pul-1713506910.jpg
चुन्बाङ (बञ्चरे खोला) सडक पुल


उहाँका अनुसार चुन्बाङ (बञ्चरे खोला) सडक पुल निर्माणको ठेक्का हिम शिखर हिरा सप्लासर्य ईन्जिनियरिङ जे.भि.ले पाएको थियो । २५ मिटर लामो उक्त सडक पुल निर्माणका लागि जे.भि.ले तीन करोड ९६ लाख २५ हजार रुपियाँमा २०७९ चैत ७ गते सम्झौता गरेको थियो । 

lanjhula-khola-pul-1713506958.jpg
च्याङचुङ खोला (लङजुला) सडक पुल

त्यसैगरी २०७९ चैत २ गते च्याङचुङ खोला (लङजुला) सडक पुल निर्माणको लागि राजबिर निर्माण सेवा रोल्पासँग ठेक्का सम्झौता भएको थियो । तीन करोड ७१ लाख १५ हजार १५८ रुपियाँमा उक्त पुल निर्माणको लागि सम्झौता भएको थियो । उक्त पुलको लम्बाई १६ मिटर रहेको छ । 

lakhar-khola-pul-1713506958.jpg
च्याङचुङ खोला (लाखर) सडक पुल

च्याङचुङ खोला (लाखर) सडक पुलको ठेक्का कालापानी किरण जे.भि.ले पाएको थियो । यो पुल निर्माणका लागि तीन करोड ३१ लाख चार हजार ५३२ रुपियाँमा ठेक्का सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वले जनाएको छ । १४ मिटर लामो उक्त सडक पुल निर्माणका लागि २०७९ चैत १२ गते उक्त सम्झौता भएको थियो । 

त्यसैगरी २०७९ चैत १२ गतेकै दिन च्याङचुङ खोला (च्याङचुङ) सडक पुल निर्माणको लागि राजबिर निर्माण सेवा रोल्पासँग ठेक्का सम्झौता भएको थियो । तीन करोड ५२ लाख रुपियाँमा उक्त पुल निर्माणको लागि सम्झौता भएको थियो । उक्त पुलको लम्बाई १४ मिटर रहेको छ । 

chanchung-khola-pul-1713506911.jpg
च्याङचुङ खोला (च्याङचुङ) सडक पुल

चार वटै पुल तोकिएको समयमै निर्माण पुरा भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वका सूचना अधिकारी विकास गौतमले बताउनुभयो । उहाँका अनुसार सम्झौता मितिमै निर्माण व्यवसायीले काम सम्पन्न गरेकोले म्याद थप लगायतका कार्य गरिरहन परेन । 

बञ्चरे खोलामा पुल निर्माण भएपछि दुईखोली – बाघमारा – चुन्बाङ सडकखण्डमा जोडिएका छन् भने लङजुला, लाखर र च्याङचुङ खोलामा सडक पुल निर्माण हुँदा चुन्बाङ– कोर्जा– महत सडकखण्ड जोडिएका छन् । 

पुल निर्माण पश्चात यातायात सेवा सहज हुने भन्दै स्थानीयवासीले खुशि व्यक्त गरेका छन् । भुमे गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष बिनोद बुढाले बिकट चुन्बाङ गाउँलाई जिल्ला सदरमुकाम रुकुमकोटसँग सडक सञ्जाल मार्फत जोड्न महत्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार एकै साथ चार वटा पक्कि पुल निर्माण हुनु विकासको उदाहरणिय पक्ष हो । 

भूमे गाउँपालिका वडा नम्वर ६ र ८ जोड्ने दोमैस्थित थबाङखोलामा पुल निर्माण नुहँदा भने चुन्बाङवासीले रुकुमकोटसम्म सिधा सडक सेवा पाउन सकिरहेका छैनन् । यस स्थानमा पुल निर्माण भएमा चुन्बाङदेखि रुकुमकोटसम्मको सडकखण्ड पुर्ण हुने वडा अध्यक्ष बुढाले उल्लेख गर्नुभयो । 

सडक पूर्वाधार कार्यालयका सूचना अधिकारी विकास गौतमका अनुसार दुई वर्ष पहिला नै दोमैस्थित थबाङखोलामा पुल निर्माणका लागि डिपिआर सम्पन्न गरिएको हो । डिपिआर भैसक्दा पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा दोमैमा पुल निर्माणको काम अघि बढ्न नसकेको गौतमले जानकारी दिनुभयो । यस स्थानमा सडक पुल अत्यावश्यक रहेको उहाँको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्