रुकुमकोट पुगेको अख्तियारको टोलीसँग गुनासा : योजना अलपत्र छन्, ठेकेदारले ठग्छन्, सरकारलाई वास्ता छैन ...

बिहीबार, वैशाख ६, २०८१

रुकुम पूर्व । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीसँग रुकुम पूर्वका सर्वसाधारणहरुले गुनासाहरु राखेका छन् । आयोगले बिहिबार रुकुमकोटमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनका लागि जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम यहाँका नागरिकहरुले जिल्लामा हुने गरेका अनियमितता र स्थानीय सरकारको वेवास्ता बारेमा गुनासा राखेका हुन् । 

कार्यक्रममा अधिकांश सर्वसाधारणले आयोगको सक्रियता, सचेतनामूलक कार्यक्रम लगायतका बारेमा विचार राखेका थिए । उनीहरुले जिल्लाका बिभिन्न ठाउँहरुमा योजनाहरु अलपत्र रहेका, कतिपय योजनाका ठेकेदार तथा सम्बन्धित निकायले सर्वसाधारणलाई ठगेर भागेको, स्थानीय सरकारले यस्ता बिषयहरुमा वेवास्ता गरेको लगायतका गुनासाहरु राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले समस्या सहजताका लागि खेल्ने भूमिकाका बारेमा गाउँगाउँसम्म पुगेर नागरिकलाई सूसूचित बनाउनुपर्ने समेत उनीहरुको माग रहेको थियो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको आयोजनामा आज  बिहिबार सिस्ने गाउँपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने काम र यसले नागरिकलाई दिने सेवा प्रबाहका बारेमा जानकारी गराईएको थियो ।  

WhatsApp-Image-2024-04-18-at-21.13.59_d80ff8d0-1713454818.jpg
कार्यक्रममा भ्रष्टााचार नियन्त्रणका उपायहरु, अलपत्र योजनाको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकसँग कसरी समन्वयात्मक भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले कार्यालयमा दर्ता भएका मुद्धा तथा गरिने कामहरु, नागरिकसँगको समन्वयात्मक भूमिका र सेवा प्रवाहलाई सहज गराउनका लागि गरिने कार्यहरुका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

जानकारी पश्चात जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, जिम्मेवार व्यक्तिहरुका साथै नागरिकहरुसँग दोहोरो छलफल गरिएको थियो । छलफलका क्रममा सहभागीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यसले प्रभावकारी कार्यसम्पादन बारेमा जिज्ञासा राखेका थिए । 

सहभागीहरुबाट आएका जिज्ञासाहरुका बारेमा जवाफ दिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका आयुक्त जयबहादुर चन्दले जिल्लामा संचालनमा रहेका कुनै पनि योजनाहरुमा स्रोत, साधनको दुरुपयोग, अनियमितता लगायतका बिषय भएमा त्यसको जानकारी कुनै पनि नागरिकले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी गराउन सक्ने बताउनुभयो ।

उहाँले अख्तियार पूर्ण रुपमा सक्रिय रहेको र जनताका समस्या समाधानका लागि हर समय तत्पर रहने समेत उल्लेख गर्नुभयो । जनताले भोगेका समस्याका बारेमा नागरिक स्तरबाट पनि आवाज उठाउनुपर्ने उहाँको भनाई छ । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका आयुक्त जय बहादुर चन्दको अध्यक्षता रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख मोहोन बहादुर के.सी., सिस्ने भूमे र पुथा उत्तरगंगा गाउपालिका अध्यक्षहरु क्रमशः कृष्ण रेग्मी, होमप्रकाश श्रेष्ठ र पूणीराज घर्ती, प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माको आतिथ्यता रहेको थियो । 

WhatsApp-Image-2024-04-18-at-21.13.56_ca69094f-1713454785.jpg
यस्तै सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक माधब राज खरेल, सशस्त्र प्रहरी बल रुकुम पूर्वका सशस्त्र प्रहरी नायब उपरिक्षक होमराज न्यौपाने लगाएत जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीका साथै सर्बसाधारणहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत बिष्णु प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्