एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको २८.१६ प्रतिशत बजेट खर्च

बिहीबार, वैशाख ६, २०८१

रुकुम पूर्व । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले तेस्रो त्रैमासिक अवधिसम्म २८.१६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । कार्यालयले आज सम्पन्न गरेको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त जानकारी गराईएको हो । 

कार्यालयका प्रमुख पिताम्बर बस्नेतले चालु आर्थिक वर्षको लागि प्रदेश सरकारबाट पाँच करोड ५७ लाख रुपियाँ बजेट प्राप्त भएकोमा तेस्रो त्रैमासिक अर्थात हालसम्म एक करोड ५६ लाख ८९ हजार ८ सय रुपियाँ (२८.१६ प्रतिशत*) बजेट खर्च भएको जानकारी दिनुभयो ।  

कार्यालयले स्थानीय तहसँग गरेको त्रैमासिक समिक्षा गोष्ठी तथा २०८१ को लागि योजना तर्जुमा गोष्ठीमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा कृषि र पशुको क्षेत्रमा गरेका कार्यहरुका बारेमा जानकारी गराउनुका साथै तेस्रो चौमासिकमा गरेका कामकाज तथा खर्च बजेटको बारेमा जानकारी गराएको छ । 

कार्यालयले गरेका कामकाज बारेमा जानकारी दिनुहुँदै कार्यालयका प्रमुख बस्नेतले तोरी, गहुँ, मकै र आलुको बीज वृद्धी कार्यक्रम, बर्खे आलु र स्याउ विकास कार्यक्रम, सिचाईंसहित कृषि विकास कार्यक्रम, बर्खे आलु ब्लक विकास कार्यक्रम, फलफूल बगैँचा सुदृढिकरण कार्यक्रम, जैविक विषादी र प्राङगारिक मल उत्पादन तथा उपयोग प्रवर्धन कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । 

यस्तै पोषण सुधारका लागि ग्रामिण कुखुरा पालन, बङ्गुर तथा भेडा पालन, हिउँदे फलफूल वितरण कार्यक्रम,  भकारो सुधार तथा कृषि प्रवर्द्धन कार्यक्रम, माटो व्यवस्थापन कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम, पशुपन्छीमा लाग्ने खोरेत, भ्यागुते, चरचरे, स्वाइनफिवर, पिपिआर, लम्पिस्किन, रानीखेत रोग नियन्त्रण खोप कार्यक्रम सञ्चालन गरिएको समिक्षा गोष्ठीमा जानकारी गराइएको छ । 

हिउँदे आलु खेती र पिविएस बिउ आलु उत्पादन खेती प्रविधि प्रदर्शनी, भेडाबाख्रामा बाह्य परजिवि उपचारको लागि डिपिङ्ग ट्याङ्की प्रविधि प्रदर्शनी लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालयले जानकारी गराएको छ । 

साथै यस अवधिमा कृषि र पशु सम्बन्धी विभिन्न खालका शिविर, तालिम, गोष्ठी, अभिमुखिकरण जस्ता कार्यक्रमहरु सम्पन्न गरिएको समिक्षा गोष्ठीमा जानकारी गराइएको छ भने कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को लागि सञ्चालन गर्ने योजनाहरुको बारेमा छलफल तथा सहभागि सरोकारवालारुबाट सुझाव सङ्कलन गरिएको छ । सहभागीबाट आएका सुझावलाई निति र विधिमा राखेर योजना निर्माण गर्ने कार्यालयले जनाएको छ ।   

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालयका कार्यालय प्रमुख, गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुख एवम प्रतिनिधि, राजनितिक दलका प्रमुख प्रतिनिधि, किसान तथा अगुवा, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अधिकृत खिम बहादुर रोकायको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।

(* यस अघि खर्च प्रतिशत फरक पर्न गएकोले सच्याईएको छ । - सम्पादक)

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्