नेभिगेशन
समाज

पाँच बुँदे रुकुम घोषणा–पत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सातौ जिल्ला अधिवेशन तथा आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

शुक्रबार मुसिकोट नगरपालिका –१ खलंगामा विभिन्न पाँच बुँदे रुकुम घोषणा पत्र जारी गर्दै अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो । 

घोषणपत्रमा रुकुम पश्चिमको कला, संस्कृति, पर्यटन, सञ्चार क्षेत्र र समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराउने, पत्रकारिता क्षेत्र व्यवसायीक हुन नसक्दा पैदा भएको निराशाको कारण नयाँ पुस्ताको आकर्षण हुन नसकेको र पत्रकारिता गरिरहेकाहरु पेशाबाट पलायन हुने क्रम बढेकोले मिडिया क्षेत्रको सम्भावना उजार गर्दै लगानी गर्न सरोकारवाला निकाय समक्ष माग गर्ने कुरा उल्लेख गरिएको छ । 

त्यसैगरी पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत पत्रकार आचारसंहिता भन्दा बाहिर हुने विभिन्न गतिविधिहरुले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनियता माथि प्रश्न चिन्ह उठ्ने गरेकोले यसको नियमन तथा नियन्त्रणका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने, श्रमजिवि पत्रकारिता ऐन अनुसार पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत पाउन नसकिरहेकोले उक्त ऐनको पूर्ण कार्यान्वयनको लागि राज्यको ध्यानाकर्षण गराउने र न्यू मिडियाको उचित व्यवस्थापन, लोक कल्याणकारी विज्ञापनको वितरण, स्थानीय स्तरका सञ्चार माध्याम र सञ्चारकर्मीहरुको क्षमता विकास र अवसरका लागि सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ । 

WhatsApp-Image-2024-04-12-at-16.48.54_331366b6-1712921728.jpg
जिल्ला अधिवेशन तथा बार्षिक साधारण सभामा शाखाका अध्यक्ष लक्ष्मण केसीले प्रस्तुत गर्नुभएको प्रगती, सांगठानिक र आर्थिक प्रतिवेदन आवश्यक सुझाव सहित पारित गरिएको छ । 

कार्यक्रमको उद्घाटन सत्र महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षता र जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुुर बिकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रिय सदस्य दिपेन्द्र शर्मा, कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराई, नेपाल प्रेस युनियनका सचिव युवराज रेग्मी, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा मगर, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, पत्रकारका विभिन्न पेशागत संगठनका प्रमुखहरु, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैर सरकारी कर्यालयका प्रमुखहरु, जिल्लास्थित क्रियाशिल पत्रकारहरु, पत्रकार महासंघका साधारण सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।  

महासंघका जिल्ला उपाध्यक्ष गोपाल रेग्मीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो । 

WhatsApp-Image-2024-04-12-at-16.48.54_5d10fcef-1712921725.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर