रुकुम पश्चिम : २९ हजार लाभग्राहीलाई पहिलो किस्ता, २४ हजार टहरा निर्माण 

शनिबार, माघ २७, २०८०

गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित रुकुम पश्चिमका २९ हजार बढी लाभग्राहीको खातामा अस्थायी आवास निर्माणको लागि रकम जम्मा गरिएको छ । २९ हजार १३३ जना लाभग्राहीको खातामा पहिलो किस्ता वापतको अनुदान रकम जम्मा गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म जिल्लामा ३१ हजार ६२० जना लाभग्राही कायम भएका छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले लाभग्राही कायम भएका सबैको लागि सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा जिल्ला विपद् व्यवस्थापन समितिबाट रकम निकाशा पठाईसकिएको बताउनुभयो । 

स्थानीय तहहरुले भने २९ हजार १३३ लाभग्राहीको खातामा जनहि २५ हजार रुपियाँको दरले ७२ करोड ८३ लाख २५ हजार रुपियाँ जम्मा गरेका हुन् । जिल्ला विपद् कोषबाट भने ७९ करोड पाँच लाख रुपियाँ निकाशा भइसकेको छ । अस्थायी आवासको लागि निकाशा गरिएको ६ करोड २१ लाख ७५ हजार रुपियाँ स्थानीय तहको कोषमै रहेको छ । 

26 gate samma1707548516.jpg

सरकारले दिएको उक्त अनुदान रकमबाट जिल्लाका छ वटा स्थानीय तहमा २४ हजार ७२६ वटा अस्थायी टहरा निर्माण भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले पाँच हजार ४९३ अस्थायी टहरा निर्माणकै चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार आठविसकोट नगरपालिकामा आठ हजार ११ वटा, चौरजहारी नगरपालिकामा पाँच हजार ३६२ वटा र मुसीकोट नगरपालिकामा ६३७ वटा अस्थायी आवास बनेका छन् ।

त्यसैगरी सानीभेरी गाउँपालिकामा पाँच हजार ५२७ वटा त्रिवेणी गाउँपालिकामा दुई हजार ९६० वटा र बाँफिकोट गाउँपालिकामा दुई हजार २२९ वटा अस्थायी आवास बनेका छन् । 

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा रकम निकाशा भएको मध्य दुई हजार ४८७ जना लाभग्राहीले भने पहिलो किस्ताको रकम पाउन सकिरहेका छैनन् । पहिलो किस्ता पाएकाहरुलाई दोश्रो किस्ता वितरणको लागि स्थानीय तहहरुले जिल्ला विपद् कोषमा हालसम्म रकम माग नगरेको प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्