भूकम्पको असर : आठविसकोट र सानीभेरीका बालबालिकामा कुषोषणको समस्या

२४३ जनामा मध्यम र २२ जना बच्चामा कडा शिघ्र कुपोषण देखियो
शनिबार, माघ २७, २०८०

भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिमका बालबालिकामा कुपोषण देखापरेको छ । जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरिएको पोषण अवस्थाको लेखाजोखाको क्रममा बालबालिकाहरुमा कुपोषण देखिएको हो । 

यूकेएड र स्टार्ट फन्डको सहयोगमा वल्र्ड भिजन इन्टरनेशनल, नेपाली प्राविधिक सहयोग समुह र पाँच तारा यूवा संरक्षण मञ्चको साझेदारीमा गरिएको ‘आपतकालिन अवस्थामा बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था लेखाजोखा’को क्रममा बच्चाहरुका कुपोषणको समस्या पत्ता लागेको हो । 

प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी आमा तथा बच्चाहरुको कुपोषणको अवस्था पहिचान गरिएको थियो । यस क्रममा दुई वटै स्थानीय तहमा रहेका बालबालिकामा कुपोषणको समस्या देखापरेको नेपाली प्राविधिक सहयोग समुहका वास अधिकृत प्रेम ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार छ महिना देखी ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्थाको जाँच पाखुराको नापद्वारा गरिएको थियो । 

आठविसकोट नगरपालिकामा गरिएको लेखाजोखा अनुसार १६ जना बच्चामा कडा शिघ्र कुपोषणको समस्या देखिएको छ भने १७२ जनामा मध्यम कुपोषण रहेको छ । दुई हजार ७७५ जना बच्चाको जाँच गरिएकोमा दुई हजार ५७८ जनाको अवस्था भने सामान्य रहेको अधिकृत ओलीले जनाउनुभयो ।

त्यसैगरी सानीभेरी गाँउपालिकाका एक हजार ८०१ जना बच्चाहरुको नाप लिदा छ जनामा कडा शिघ्र कुषोषण र ७१ जनामा मध्यम कुपोषण देखिएको छ । सानीभेरीमा एक हजार ७२४ जनाको अवस्था भने सामान्य रहेका पाईएको छ ।

दुबै पालिकाको चार हजार ५७६ जना बच्चाहरुको कुपोषण लेखाजोखा गर्दा चार हजार ३११ जना सामान्य, २४३ जनामा मध्यम कुपोषण र २२ जना बच्चाहरुमा कडा शिघ्र कुपोषण देखापरेको ओलीले जानकारी दिनुभयो । भूकम्पपछि गत मङ्सिर २१ गते देखी माघ ६ गते सम्म उक्त लेखाजोखा गरिएको थियो । 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. शुसिल पोखरेलका अनुसार आपतकालिन अवस्थामा बच्चाहरुको स्तनपानमा हुने समस्या, असल खानपिनको अभाव, खानेपानी, सरसफाई तथा स्वच्छतामा ध्यानमा नपु¥याउँदा बालबालिकामा कुपोषण हुने गर्दछ । उहाँले भूकम्पको बेलामा घरको अन्नपातमा क्षति पुगेपछि राहतको लागि बाँडिएका जंक फूडको कारण पनि कुपोषण देखिएको बताउनुभयो ।

आपतकालिन अवस्थामा बिशेष गरी महिला, बालबालिका, बिपन्न वर्गका घरपरिवारमा कार्य बोझ, शारिरीक असमर्थता, माानसिक तनावले पोषणमा समस्या हुने उहाँको भनाई छ । कुपोषणका कारण बालबालिकाको मृत्यु समेत हुनसक्ने डा. पोखरेलले बताउनुभयो । 

आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले पोषण र खानेपानी सरसफाई तथा स्वच्छता मार्फत पोषण अवस्था सुधार गर्नको लागि विभिन्न निकायको सहकार्यमा काम गरिएको बताउनुभयो । विपद्को समयले निम्त्याएको जोखिपूर्ण अवस्थाबाट थप क्षति हुन दिन स्थानीय सरकार जिम्मेवारपूर्वक लागि परेको उहाँको भनाई छ । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्