परदेशीको योगदानले रोजगारीका अवसर

सोमबार, पुस २३, २०८०
  • अबिषेक के.सी.

स्वदेशमा रोजगारी नपाई बैदेशिक रोगजारीममा जान बाध्य हामी परदेशीहरुले थप रोजगार सिर्जना गरिरहेको अवस्थालाई कमै महत्व दिएको पाईन्छ ।

ठन्डा दिमागले सोच्ने हो भने खाडिसहितका अन्य मुलुकमा पुगेका परदेशीहरु लाखौ नेपालीका रोजगारदाता हुन् । यीनै रोजगारदाताहरुको कारण लाखौ नेपालीको घरमा चुल्हो बलिरहेको छ । 

रोजगारको खोजीमा खाडि लगायतका देश जाँदा पासपोर्ट बनाउने जनशक्ति चाहिन्छ । जुन कार्यालयमा कर्मचारीहरुले जागिर पाएका मात्रै छैनन् कार्यालय बाहिरका फोटोकपि गर्ने, टाइपिङ गर्ने, फोटो खिच्नेहरुले पनि राम्रै रोजगारी पाएका छन् । हामी खाडी जाँदा श्रम कार्यालयका कर्मचारीहरु, बाहिर बस्ने एजेन्टहरु र बीमा कम्पनीहरुले पाएको रोजगारी बिर्सन हुँदैन । 

दर्जनौ मेनपावर कम्पनी र तिनका कर्मचारीहरुले पाएको रोजगारी पनि हामी परदेश आउने जाने प्रयोजनबाटै सिर्जित छ । अनि मेडिकल एजेन्सीहरुले पिसिआर, एक्सरे गर्दै व्यवसाय चलाएका छन् । हामी घरबाट राजधानीसम्म आउन पर्छ । यस बिचमा यातायात व्यवसायी, होटेल व्यवसायीहरुले पाएको रोजगारीमा पनि खाडिका मजदुरको लगानी र हात रहेको पाईन्छ । 

एयरपोर्टका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, ट्राभल एजेन्सीहरु, पाईलट, एयरहोस्टेजहरुको रोजगारी खाडि मुलुकमा जाने आउनेहरुको कामबाटै सिर्जित रहेको छ । 

नेपालीहरु बिदेश जानले नेपालमा रहेका बैंकहरुले काम पाएका छन् भने देशले विदेशी मुद्रा भण्डार गर्न पाएको छ । हामी परदेशीहरुको कारण घर नजिकको पसल चलेको छ, हाम्रा छोराछोरी पढ्ने स्कुलको शिक्षकहरु र स्कूल कर्मचारीहरुले रोजगारी पाएका छन् । 

हाम्रै कमाईले नेपालको भाटभटेनी देखि सीजी जस्ता सुपरमार्केटहरुको ब्यापार मज्जाले चलेको छ । हाम्रा भाई बहिनीहरुले चलाउने मोटरसाइकल र स्कुटर चढ्ने रहर खाडि लगायतका मुलुक आएरै पुरा भएको छ । यसबाट मोटरसाईकलका शोरुम र पेट्रोलपम्पले मूनाफा पाईरहेका छन् । उनीहरुको व्यापार खुब चलेको छ । 

हामी खाडी आउनाले मेरो परिवारले दशैं तिहारमा नयाँ लुगा लगाउन सक्ने भएका छन् । कपडा व्यापारीहरुले राम्रो आम्दानी गरेका छन् । 

हामी खाडी आएपछि हाम्रा घरमा स्क्रिनटच मोबाइल पनि भित्रिएको छ । घरमा वाइफाई जोडिएको छ । टेलिकम अन्तर्गतका कम्पनीहरुले मनग्य आम्दानी गरेका छन् । यी सबैकुरा हामीले बिदेशमा बगाएको पसिना र रगतको कमाईसँग जोडिएका छन् ।  

यी बाहेक अरु धेरै नेपालीहरुलाई रोजगारी दिने हामी परदेशी नेपालीहरु आफैमा ठुलो रोजगारदाता हौं । यस अर्थमा लाखौ नेपालीको चुलो बाल्न हामी परदेशीहरुको योगदान आफैमा महान् छ । 

यद्यपी, हामी बाध्यताले परदेश आएका छौ, रहरले हैन । आफ्नै माटो र ठाउँमा परिश्रम गरी जीवन निर्वाह गर्ने, परिवार पाल्ने र आफ्ना सन्तानको लालनपालन गर्ने अवसर भईदिए सायद परदेशिनु पर्दैन थियो होला । ब्यवस्था फेरिएर आँगनमै सिंहदरवार पुगेको छ । समृद्धिका नारा घन्किरहेका छन्  । तर बिदेशिनेहरुको संख्या दिनानुदिन बढ्दो छ ।

युवाहरुलाई रोजगार सुनिश्चितता गर्न नसकेपनि हाम्रो रेमिटेन्सलाई राज्यले उत्पादनमुलक कार्यमा लगाउन सकेका मात्रै पनि परदेशीको पसिनाको सम्मान हुन्छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्