२३ हजार लाभग्राहीको लागि ५९ करोड निकासा

बाँफिकोट बाहेकका २१ हजार १२५ जना लाभग्राहीको खातामा रकम जम्मा
शुक्रबार, पुस २०, २०८०

रुकुम पश्चिममा भूकम्पपीडितहरुको अस्थायी आवास (टहरा) निर्माणको लागि हालसम्म ५९ करोड दुई लाख रुपियाँ निकाशा भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाईएको हो । 

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले दिनुभएको जानकारी अनुसार २३ हजार ६०८ जना लाभग्राहीको लागि पहिलो किस्ता वापतको रकम पठाईएको हो । पठाईएको उक्त रकमबाट स्थानीय तहले २१ हजार १२५ जना लाभग्राहीको खातामा रुपियाँ जम्मा गरिसकेका छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालले चौरजहारी नगरपालिकामा छ हजार २७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाईएकोमा छ हजार १६५ जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले रकम जम्मा भईसकेको बताउनुभयो ।

त्यसैगरी आठबीसकोट नगरपालिकामा सात हजार लाभग्राहीको लागि पठाईएको १७ करोड ५० लाख रुपियाँ सात हजार जनाकै खातामा जम्मा भईसकेको छ । मुसीकोट नगरपालिकामा एक हजार ३०५ जना लाभग्राहीको लागि पठाईएको तीन करोड २६ लाख २५ हजार रुपियाँ मध्य ६३४ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ । 

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा चार हजार ५७३ जना लाभग्राहीको लागि ११ करोड ४३ लाख २५ हजार रुपियाँ पठाईएको छ । उक्त सबै रकम पालिकाले लाभग्राहीको खातामा जम्मा गरिसकेको छ । त्रिवेणी गाउँपालिकामा पनि दुई हजार ७५२ जना जना लाभग्राहीको लागि पठाईएको छ करोड ८८ लाख रुपियाँ सबै लाभग्राहिको खातामा पठाईसकिएको छ ।

बाँफिकोट गाउँपालिकामा एक हजार ६९९ जना लाभग्राहीको लागि पठाईएको चार करोड २४ लाख ७५ हजार रुपियाँ कुनै पनि लाभग्राहीको खातामा पठाईएको छैन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर अन्यत्रै गएको र नयाँ नआएकोले उक्त रकम लाभग्राहीले पाउन नसकेका हुन् । 

सरकारले उपलब्ध गराएको अनुदान रकमबाट जिल्लामा हालसम्म दश हजार ४२३ वटा अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सात हजार ११७ वटा आवास निर्माण भईरहेका छन् । 

रुकुम पश्चिममा सरकारी अनुदानबाट दश हजार बढी अस्थायी आवास निर्माण

417444618_1401565784118845_6768598765945077874_n1704451268.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्