चिसोको कारण भूकम्प पीडितको जनजीवन थप प्रभावित

बालबालिका, सुत्केरी, जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्यमा थप जोखिम
मंगलबार, मंसिर १९, २०८०

रुकुम पश्चिम । हिउँदे वर्षाको कारण रुकुम पश्चिमका भूकम्प पीडितहरुको जनजीवन थप प्रभावित बनेको छ । त्रिपालमूनि बस्दै आएका यहाँका पीडितहरुको स्वास्थ्य चिसोको कारण थप जोखिममा परेको छ ।

चिसोको कारण यहाँका बालबालिका, सुत्केरी, जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य अवस्था थप जोखिममा परेको हो । आठबिसकोट नगरपालिका –१४ की सुत्केरी कल्पना बिकले चिसो असाध्यै बढेको बताउनुभयो । कल्पनाको १९ दिने छोराको गत कात्तिक १७ गतेको भुकम्पमा परेर मृत्यु भएको थियो भने उहाँ आफै घाईते समेत हुनुभएको थियो ।

उहाँले भन्नुभयो, “सुत्केरी अवस्था छ, घाईते पनि छु, छोरा गुमाउँदाको पीडामाथि प्रकृतिले पनि झन् दुःख थपिरहेको छ ।” चौरजहारी अस्पतालमा शल्यक्रिया मार्फत छोरालाई जन्मदिनुभएकी कल्पनाको शरिरमा लगाईएको टाँका खोल्न नपाउँदै भूकम्पले भत्काएको घरमा चेपिनुभएको थियो । सासु ससुरा र गाउँलेको सहयोगमा तत्कालै उद्धार भएर बाँचेकी उहाँ अहिले घाईते शरिरका साथ टेन्टमा बस्दै आउनुभएको छ । 

सोमबार बिहानै देखि पानी परेको र अग्लो लेकमा हिउँ परेकोले समस्या भएको सानीभेरी गाउँपालिका –४ का भूकम्प पीडित भरे परियारले जानकारी दिनुभयो । त्रिपालको सहारामा बसिरहेका गाउँका भूकम्प पीडितहरु चिसोको मारमा परेको उहाँले बताउनुभयो । दिनभर आकाशमा भएको बदली र बेलुकापख परेको वर्षाले झन् समस्या थपिरहेको उहाँको भनाई छ ।  

पानीका कारण भुकम्प प्रभावित क्षेत्रका स्थानीयलाई निकै समस्या भएको सानीभेरी गाउँपालिका –४ का वडा अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो । दिनदिनै बढेको चिसोको कारण भूकम्प प्रभावित क्षेत्रका बालबालिका, जेष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीहरुलाई समस्या बढेको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

उहाँले प्रभावित सबै परिवारलाई त्रिपाल तथा टेन्ट र न्यानो कपडा उपलब्ध गराईएको तर पानी पर्न थालेकोले थप जोखिम निम्तने खतरा रहेको उल्लेख गर्नुभयो ।  

बाहिर पानी पर्ने, त्रिपाल तथा टेन्टमा आगो बाल्दा आगलागी हुने जोखिमका कारण प्रभावितहरुले आगो समेत ताप्न नपाएको अवस्था छ । अहिले भूकम्पबाट प्रभावित यहाँका करिब ३० हजार घरपरिवार घरबाहिरै त्रिपाल र टेन्टको सहायतामा बसिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्