रुकुम प्रशासनमा डिजिटल नागरिक वडापत्र सञ्चालनमा

मंगलबार, मंसिर १९, २०८०

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले डिजिटल नागरिक वडापत्र तथा डिजिटल सूचना पाटि सञ्चालनमा ल्याएको छ ।

कार्यालयबाट प्रवाह गरिने सेवाहरु सेवाग्राहीले आफ्नो आवश्यकता अनुसार हेर्न सकिने गरेर डिजिटल वडापत्र सञ्चालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयलाई प्रविधिमैत्री बनाउने क्रममा डिजिटल वडापत्र र सूचना पाटि सञ्चालनमा ल्याईएको हो । 

प्रशासन कार्यालय परिसरमा राखिएको उक्त डिजिटल वडापत्रलाई नागरिकले आफ्नो आवश्यकता अनुसार आफै प्रयोग गर्न सक्नेछन् । प्रजिअ पन्तले विभिन्न सुचना, समाचार आदि स्क्रिनमा देखिने, कार्यालयका सम्पूर्ण शाखा र प्रदान हुने सेवा तथा कर्मचारीको विवरण विवरण हेर्न सकिने गरी उक्त सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी डिजिटल वडापत्रमा कार्यालयका सूचनाहरु पिडिएफ, टेक्स, एक्सेल लगायतमा सजिलै हेर्न र पढ्न सकिने, सेवाग्राहीले सेवा लिँदा अपनाउनुपर्ने प्रक्रिया र आवश्यक कागजातहरुबारे जानकारी लिन सकिने बिशेषताहरु राखिएको छ ।

यस अघि जिल्ला प्रशासन कार्यालयमा नागरिक वडापत्र, उजुरी पेटिका, स्तनपान कक्ष, मल्टिचार्जर लगायतका नागरिकमैत्री व्यवस्था सञ्चालनमा रहेका छन् । प्रशासन कार्यालयले कार्यालय परिसरलाई वातावरणमैत्री समेत बनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्