त्रिपालमूनि बस्दै आएका सुत्केरीलाई सहयोग

सोमबार, मंसिर १८, २०८०

रुकुम पश्चिम । भूकम्पको कारण सन्तान गुमाएका रुकुम पश्चिमका दुई जना सुत्केरीहरुलाई आर्थिक सहयोग गरिएको छ ।

आठबिसकोट नगरपालिका १४ की १८ वर्षिया कल्पना बिक र सानीभेरी गाउँपालिका वडा नम्वर ४ की २६ वर्षिया माया घर्ती ओलीलाई सहयोग उपलब्ध गराईएको हो । 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (फ्रान्स) ले दुई जना सुत्केरीलाई जनहि ५८ हजार पाँचसयका दरले एक लाख १७ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । 

कल्पनाको १९ दिने छोरा रहिस बिकको भूकम्प परेर मृत्यु भएको थियो । शल्यक्रिया गरेर चौरजहारी अस्पतालमा छोरालाई जन्म दिनुभएकी उहाँ भूकम्पमा परेर घाईते समेत हुनुभएको थियो । 

त्यसैगरी मायाको श्रीमान् पूर्ण र छोरा प्रणवको पनि भूकम्पकै कारण मृत्यु भएको थियो । काखमा रहेकी छोरीलाई भूकम्पबाट जोगाउन सफल मायाको घर र जाजरकोटको रिम्ना बजारमा सञ्चालित व्यवसाय ध्वस्त भएको छ । दुबै जना पीडितहरु अहिले त्रिपालमूनि बसिरहेका छन् । भूकम्पले सन्तान गुमाएका उनीहरु मानसिक रुपमा समेत विक्षिप्त रहेका छन् । 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (फ्रान्स) का युरोप क्षेत्रिय समितिका संयोजक प्रकाश तिवारीका अनुसार यस वर्षको तिहार धमाकाको अवसरमा हरेक वर्ष गरिने कार्यक्रम खर्च कटौटी गरेर भूकम्प प्रभावित सुत्केरीलाई सहयोग गरिएको हो । 

समाजका अध्यक्ष आभास आचार्यले विपदको बेला जोखिममा रहेका सुत्केरीहरुलाई आवश्यक राहत तथा स्वास्थ्य सामाग्री खरिदमा सहयोग पुर्याउने उद्धेश्यले सहयोग गरिएको बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा सुत्केरीहरुको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो । 

सोमबार पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसी मार्फत पीडितहरुको घरमा गएर उक्त रकम उपलब्ध गराईएको हो । सहयोग रकम हस्तान्तरणमा सानीभेरी गाउँपालिका ४ का वडा अध्यक्ष मनोज बुढाथोकी, रिम्ना प्रहरी चौकीका निमित्त प्रमुख शेरबहादुर चन्द, घेत्मा स्वास्थ्य चौकीका प्रमुख देव बहादुर चन्द लगायतको उपस्थिति रहेको थियो । 

भूकम्प प्रभावितहरु मध्य यतिबेला सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमूनी बसिरहेका भूकम्प पीडितहरुको स्वास्थ्य हिउँदे बर्षाको कारण थप जोखिममा परेको छ । 

WhatsApp Image 2023-12-04 at 21.39.52_70e027c71701706026.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्