सोती घटना

सोति घटना : पेशी सुनुवाई बहस सुरु, आज हेर्दाहेर्दैमा राखियो

अदालतको मूल गेटमा पीडितहरुकाे धर्ना
आइतबार, मंसिर १७, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा आज आईतबारबाट रुकुम जिल्ला अदालतमा पेशी सुनुवाई बहस सुरु भएको छ ।

रुकुम पश्चिम अदालतका निमित्त श्रेष्तेदार गोबिन्द कोईरालाका अनुसार उक्त मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । 

पेशी सुनुवाईको पहिलो दिन आज जाहेरीवालाको तर्फबाट दुई जना सरकारी वकिल र सात जना कानून व्यवसायी गरेर नौ जनाले बहस गर्नुभएको छ । कोईरालाले सोती घटनाको नामले चर्चित उक्त मुद्धा हेर्दाहेर्दैमा राखिएको जानकारी दिनुभयो । 

भोलि फेरि सुनुवाईले निरन्तरता पाउने छ । जाहेरीवालाहरुको तर्फबाट कानून व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादीहरुका तर्फबाट बहस हुने र त्यसपछि मात्र अदालतले फैसला सुनाउने छ ।

अदालतका अनुसार जाहेरीवालाको तर्फबाट चार जना सरकारी वकिल सहित १६ जना कानून व्यवसायीले बहस गर्नुहुनेछ भने प्रतिवादीको तर्फबाट ६ जना कानून व्यवसायीले बहस गर्नुहुनेछ । 

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।   

उक्त घटनामा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर अहिले २३ जना मात्रै रुकुम कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । रुकुम अदालतका अनुसार मुद्धा दर्ता भएका मध्य चार जना रुकुम अदालत, दुई जना उच्च अदालत र पाँच जना सर्वोच्च अदालतको आदेशमा छुटिसकेका छन् । 

पेशी सुनुवाई तोकिएको अघिल्लो दिनदेखि नै पीडित पविारहरुले रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिईरहेका छन् । न्यायको माग गर्दै धर्ना दिएको उनीहरुको भनाई छ । 

सो घटनाबारे छानविन गर्न बनेको संसदीय समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्