नेभिगेशन
समाज

भूकम्प प्रभावित क्षेत्रका पत्रकारहरुको लागि मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रम

रुकुम पश्चिममा भूकम्पका कारण प्रभावित पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । 

आईतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित जिल्ला समन्वय समितिको सभाहलमा यो कार्यक्रम सम्पनन भएको हो । 

युनेस्को काठमाडौँ, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्य र नेपाल पत्रकार महासंघ पश्चिम समन्वयमा रुकुम पश्चिमका क्रियाशील पत्रकारहरुको लागि कार्यक्रम सम्पन्न भएको हो । यस अघि जाजरकोटमा पनि उक्त कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा भूकम्प प्रभावित पत्रकारलाई सीएमसी नेपालका मनोविद् गोपाल बोहराले भूकम्पपछि शारीरिक तथा मानसिक रूपमा देखिने परिवर्तन, यस्तो अवस्थाको सामनाका लागि अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

पत्रकारहरूले भूकम्पपछि आफूहरूले गरेको अनुभव र परेको असहजताको बारेमा अनुभव सुनाएका थिए । रिपोर्टिङसँगै उद्धारमा पनि आफूहरू खटिएको स्मरण गर्दै उनीहरूले अझैँ पनि कात्तिक १७ गतेको रातिको भूकम्पको दृश्य सम्झेर मानसिक रूपमा विक्षिप्त हुने गरेको बताए । 

विपद्को समयमा फैलन सक्ने अफवाह, गलत सूचना, नियन्त्रण तथा विपद्पछिको समाचार सङ्कलन रणनीतिको बारेमा सीआईएनका कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले सहभागी पत्रकारसँग कार्यक्रममा छलफल गर्नुभएको थियो ।

भूकम्पपछि पनि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमले प्रभावित नागरिक, सरकारी तथा गैरसरकारी निकाय र सहायताकर्मीहरूलाई कसरी जोड्न सक्छन् भन्ने बारेमा उहाँले जानकारी गराउनुभयो । 

भूकम्पका कारण घरबारविहीन भएका, समाचार सङ्कलन सामग्रीमा क्षति पुगेका पत्रकारमा कामप्रतिको मोह घट्दै गएको समयमा उनीहरूका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग र क्षमता बढाउने कार्यक्रम चलाउनु सकारात्मक रहेको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले जानकारी दिनुभयो । 

रुकुम पश्चिममा २८ जना पत्रकार भुकम्पबाट प्रत्यक्ष प्रभावित भएका छन् भने १ सञ्चार माध्याममा पुर्ण र ४ वटा सञ्चार माध्याममा आंशिकरुपमा क्षती भएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज