राप्ती राजमार्ग अन्तर्गत पितिबाङ खोलाको कलभर्ट मर्मतपछि सडक सुचारु

सोमबार, असोज १, २०८०

रुकुम पश्चिम । राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यान सडकखण्डको पितिबाङ खोलामा अस्थाई रुपमा कलभर्ट निर्माण भएपछि सडक सूचारु भएको छ । सडक अवरुद्ध भएको २४ घण्टापछि सडक भएको हो । 

खोलामा रहेको कलभर्ट बाढीले बगाए पछि आईबार बेलुका देखि राप्ती राजमार्ग अन्तर्गतको उक्त सडकखण्ड अवरुद्ध भएको थियो । 

आज सडक डिभिजन कार्यालय चौरजहारी र मुसीकोट नगरपालिकाको डोजर, टिप्पर प्रयोग गरेर खोलामा रहेको कलभर्ट मर्मत गरिएको हो । हिजो साँझ देखिनै सडक खुलाउन प्रयास भैरहेकोमा आज बेलुकाबाट पुर्णरुपमा सवारी साधन संचालनमा आएको मुसीकोट नगरपालिका नगर प्रहरी असई उमेश केसीले जानकारी दिनुभयो । 

आज दिनभर काम गरे पछि सवारी साधन सुचारु भएका छन् । केहि सवारी साधनलाई हिजो बेलुका नै डोजरको सहायतामा वारपार गरिएको थियो । ठुला मालबाहक गाडीहरु भने आज खोलामा कलभर्ट मर्मतपछि चलेको नगर प्रहरी असई केसीले जानकारी दिनुभयो ।

ठुलो वर्षा र खोलामा ठुलो बाढी आएको बेला प्रत्यक वर्ष यो खोलामा सवारी अवरुद्ध हुने गर्छन । खोलामा निर्माण थालिएको पुल समयमै निर्माण नहुदा खोलामा प्रत्यक वर्ष सास्ति हुने गरेको हो । 

खोलामा पुल निर्माणको जिम्मा संरक्षण निर्माण सेवाले लिएको छ । पछिल्लो पटक थप गरिएको समय अनुसार यो पुल २०७८ को वैशाख ८ मा सक्नुपर्ने थियो । २०७४ सालको असार ८ मा ५ करोड २८ लाखमा पुल निर्माणका लागि संरक्षण निर्माण सेवासङग सम्झौता भएको थियो ।

पहिलो पटक निर्धारित समयमा काम नसकिएपछि पटक पटक गरेर म्याद थप्दा पनि पुल निर्माणको काम सकिएको छैन । अहिलेसम्म पुलको एक साइडको वेसमात्र निर्माण भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्