पितिबाङको कल्वर्ट खोलाले बगायो ! 

अवरुद्ध सडक सुचारुको काम हुँदै
सोमबार, असोज १, २०८०

रुकुम पश्चिम । राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यानखण्डको मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा आइतबार दिउँसोदेखि उक्त सडकखण्ड अवरुद्ध भएको छ । 

खोला वारपारको लागि राखिएको कल्वर्ट र ढलानको वरिपरिको भाग बाढीले बगाउँदा बाटो अवरुद्ध भएको हो । आईतबार दिउँसो देखिको अविरल वर्षापछि आएको बाढीले कल्वर्ट र ढलानमा वरिपरिको भाग बगाएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय चौरजहारी र स्थानीय सरकारसँगको सहकार्यमा सडक सञ्चालनको लागि प्रयास भईरहेकोले समेत उहाँले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले अवरुद्ध सडकमा होमपाईप हालेर सडक सुचारु गर्ने कोशिस भईरहेको बताउनुभयो । कार्यालयबाट खटिएको प्राविधिक टोलीले आज दिनभरमा सडक सुचारु गर्नको लागि समन्वय गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । 

सडक अवरुद्ध हुँदा राप्ती राजमार्ग हुँदै दाङ, नेपालगञ्ज, काठमाडौँ लगायतका जिल्ला बाहिरबाट र तथा त्रिवेणी गाउँपालिका क्षेत्रबाट जिल्ला सदरमुकाम मुसीकोट आउजाउ गर्ने सवारी साधनहरु खोला पारिपारी रोकिएका छन् । 

पितिबाङ खोलामा पुलको निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवाले २०७६ सालमा लिए पनि अहिलेसम्म पुल बनेको छैन । जसकारण यस खण्डमा बर्सेनि समस्या दोहोरिने गरेको छ । पक्की पुल नबन्दा बर्सेनि नागरिकले सास्ती भोगिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्