नेभिगेशन
समाज

राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीमा निजि क्षेत्रको सहकार्य बारे मुसिकोटमा अन्तरक्रिया

रुकुम पश्चिम । राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली सम्बन्धी रुकुम पश्चिममा निजि क्षेत्रको सहकार्य बारेमा अन्तरक्रिया गरिएको छ । बिहिबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा मुसिकोटमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले सीप र योग्यता भएका व्यक्तिलाई समाजमा सम्मानित रुपमा हेर्ने गरिएको बताउनुभएको छ । सीप प्राप्त व्यक्तिको योग्यता स्पष्ट हुने भएकोले त्यस्ता व्यक्तिहरु सम्मानित हुने उहाँको भनाई छ । 

श्रमिक र व्यवसायीहरु सहभागि उक्त कार्यक्रममा मन्त्री पोखरेलले सरकारले व्यवसायिक सीप र दक्षतालाई प्रमाणिकरण तथा परिमार्जनका लागि व्यवसायिक योग्यता प्रणाली सुरु गरेको जानकारी दिनुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “कार्यक्रम अन्तर्गत परम्परागत सीपलाई पनि परिमार्जन गरिनेछ, स्तर अनुसारको सीपको योग्यता दिलाउने काम यस परियोजनामा हुनेछ ।”

कार्यक्रममा उहाँले परम्परागत रुपमा गरिदै आएका लुगा सिलाउने, भाँडा बनाउने, घर बनाउने लगायतका सीपयुक्त पेशालाई अझ परिस्कृत गरेर योग्यता दिलाउन सरकारले यस्तो कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली सीपलाई शिक्षा र योग्यतामा रुपान्तरण गर्ने कार्यक्रम रहेको बताउनुभयो । प्राप्त शिक्षा र सीपको सहि कार्यान्वयनका लागि यो प्रणाली महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

व्यक्तिमा रहेको सीपलाई शिक्षामा आवद्ध गर्ने र मान्यता प्रदान गर्ने समेत उहाँले जनाउनुभयो । यस कार्यले व्यक्तिको दक्षता, योग्यता र सीपलाई बजारमा उपयोग गर्न व्यवसायी र श्रमिकहरुको सहभागिता महत्वपूर्ण हुने सचिव डा. शर्माको भनाई रहेको छ । 

उक्त कार्यक्रममा रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्काले समेत आफ्नो भनाई राख्नु भएको थियो । 

सामाजिक विकास कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख धनञ्जय आचार्यले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा मन्त्रालयका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमालले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नुभएको थियो ।

मन्त्रालयका शाखा अधिकृत रेशम खत्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली परियोजनाका फोकल पर्सन सुरेन्द्र कुमार रामले कार्यक्रमबारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा जिल्लाका करिब ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज