आईतबारको हावाहुरीले रुकुम पश्चिममा दश करोड बढीको क्षति

यस वर्ष जिल्लामा खाद्य अभाव हुन सक्ने
बिहीबार, भदौ २१, २०८०

रुकुम पश्चिम । गत आईतबार आएको हावाहुरीसहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाईएको मकैबालीमा दश करोड भन्दा बढी क्षति भएको छ । कृषि विकास कार्यालयले तीन दिन लगाएर संकलन गरेको क्षतिको विवरण अनुसार जिल्लाभर १० करोड २९ लाख ३९ हजार ३७५ रुपियाँ बराबरको क्षति भएको हो । 

मकै पाकेर भित्र्याउने बेलामा भएको विपद्को कारण जिल्लामा ठुलो क्षति भएको कृषि विकास कार्यालय रुकुमपश्चिमका निमित्त प्रमुख मिनबहादुर केसीले जनाउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशन अनुसार तीन दिन लगाएर क्षतिको विवरण संकलन गरिएको हो । सोमबार, मंगलबार र बुधबार जिल्लाका छ वटै स्थानीय तहमा प्राविधिक र कर्मचारीहरु खटाएर क्षतिको विवरण संकलन गरिएको हो । 

जिल्लाभर कुल तीन हजार ३२५ हेक्टर क्षेत्रफल जग्गामा मकैखेती गरिएकोमा ५२ प्रतिशत जग्गामा रहेको मकैबाली नष्ट भएको छ । संकलित विवरण अनुसार जिल्लामा सबैभन्दा बढी क्षति आठविसकोट नगरपालिका क्षेत्रमा लगाईएको मकैबालीमा भएको छ । उक्त क्षेत्रमा एक हजार २२२ हेक्टर जमिनमा मकैखेती गरिएकोमा ४८.९ प्रतिशत अर्थात एक हजार ४९३.८९ टन मकैमा क्षति पुगेको छ । यसबाट आठविसकोटमा मात्रै तीन करोड ७३ लाख ४७ हजार ३७५ रुपियाँको क्षति भएको छ ।

त्यसैगरी चौरजहारी नगरपालिका क्षेत्रमा लगाईएको ५९० हेक्टर जग्गामा ५५.४ प्रतिशत क्षति भएको छ । यसबाट ८१७.१५ टन मकै तथा दुई करोड चार लाख २८ हजार ७५० रुपियाँ क्षति भएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिकामा पनि एक करोड ७२ लाख ६७ हजार ९०६ रुपियाँ २५ पैसाको क्षति भएको छ । यहाँ ५६३.८५ हेक्टर क्षेत्रफलमा मकै लगाईएको थियो भने ४९ प्रतिशत क्षति भएको छ । त्रिवेणीमा मात्रै ६९०.७६ टन मकैमा क्षति भएको बताईएको छ । 

कृषि विकास कार्यालयका अनुसार मुसीकोट नगरपालिकामा ५३५ हेक्टर क्षेत्रफल जग्गामा मकै लगाईएको थियो भने ४९.१ प्रतिशत अर्थात ६५६.७१ टन मकै क्षति भएको छ । यहाँ एक करोड ६४ लाख १७ हजार ८१२ रुपियाँ बराबरको क्षति भएको बताईन्छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकामा ६४ लाख १२ हजार पाँच सय रुपियाँको क्षति भएको छ । यहाँ ३११ हेक्टर जमिनमा मकै लगाईएको थियो भने ३३ प्रतिशत अर्थात २५६.५ टन मकैमा क्षति भएको छ ।

कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा लगार्ईएको १०३.५ हेक्टर जमिनमध्य ७८.३ प्रतिशत अर्थात २०२.६ टन मकैमा क्षति पुगेको छ । यहाँ ५० लाख ६५ हजार ३१ रुपिँयाको क्षति भएको विवरण संकलन भएको छ । 

निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीका अनुसार मकैबालीमा भएको क्षतिले खाद्यसंकट आउन सक्ने देखिन्छ । गत वर्षमात्र जिल्लामा उत्पादन भएको मकै मध्य २१५ टन बचत हुन्थ्यो भने यस वर्ष जिल्लालाई एक हजार ६०५ टन मकै अपुग हुने देखिन्छ ।

प्रदेश मन्त्रालयबाट क्षतिको विवरण माग गरिएकोले किसानहरुलाई राहतको व्यवस्था हुनसक्ने आशा गरिएको उहाँको भनाई रहेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्