रुक्मिणीको सामाजिक परिक्षण र अभिभावक भेला सम्पन्न

मंगलबार, भदौ १२, २०८०

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयले सामाजिक परिक्षण गर्नुका साथै प्रतिवेदन र अभिभावक भेला सम्पन्न गरेको छ ।

शैक्षिक सत्र ०७९/८० मा बिद्यालयको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा भएका कार्यप्रगती तथा आयव्यय बिद्यालयले आज एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो । 

बिद्यालयका शैक्षिक तथा भौतिकतर्फ बिद्यालयको लेखापरिक्षण समितिले कार्यसम्पादनका बिभिन्न बुँदाहरुमा गरेको मूल्यांकन पनि आज सार्वजनिक गरेको छ । लेखापरिक्षण समितिले १०० को मूल्यांकनमा गरेको कार्यसम्पादनमा बिद्यालयले ७६ नम्बर मात्रै ल्याएको लेखापरिक्षण समितिका सदस्य भूपेन्द्र आचार्यले प्रस्तुतीका क्रममा जानकारी गराउनुभयो ।

बिगतका वर्षहरुमा भन्दा बिद्यालयको कार्यसम्पादनमा केही सुधार भएतापनि सोचेजस्तो उपलब्धि हुन नसकेको लेखापरिक्षण समितिले जानकारी दिएको छ । अझै पनि बिद्यालयले बिगतका कार्यहरुलाई सुधार्दै आउँदा दिनमा उत्कृष्ट कार्य गरी शतप्रतिशत नम्बर ल्याउनुपर्नेमा उक्त समितिले अनुरोध गरेको छ । 

यस्तै बिद्यालयले शैक्षिक सत्र ०७९/८० को आयव्यय पनि सार्वजनिक गरेको छ । बिद्यालयका लेखापाल अर्जुन बुढाक्षेत्रीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा बिद्यालयमा यो शैक्षिक सत्रमा ५ करोड २३ लाख, ८५ हजार २ रुपैयाँ ४४ पैसा आन्तरिक तथा बाह्य स्रोतबाट प्राप्त भएको थियो ।

जसमध्य ५ करोड ४३ लाख ९९ हजार ७८ रुपैया १५ पैसा बिभिन्न शिर्षकहरुमा खर्च भएको बताईएको छ । बिद्यालयको शैक्षिक तथा भौतिक क्षेत्र लगाएत अन्य गतिबिधीहरुमा उक्त रकम खर्च भएको लेखापाल बुढाक्षेत्रीले जानकारी दिनुभयो । 

शिक्षक अभिभावक संघका अध्यक्ष फनेन्द्र आचार्यको अध्यक्षता रहेको सामाजिक परिक्षण कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका  पदाधिकारी, शिक्षक, बिद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।

बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन हरि थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्