हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित छ जनाकै मृत्यु

मंगलबार, असार २६, २०८०

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेनसहित छ जनाको मृत्यु भएको छ ।

मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकोका नागरिकको मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन् ।
प्रजिअ भट्टराईले मृतक सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको बताउनुभयो ।

स्थानीयबाट हेलिकोप्टर दुर्घटनाको खबर आउनासाथ सोलुदूधकुण्ड नगरपालिका–२ बेनीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो ।

मृतकको शव काठमाडौं लैजनका लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटना स्थल पुग्न सकेको छैन ।

अल्टिच्युट एयरको दुई हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसममा सुधार हुनासाथ घटनास्थल पुग्ने प्रजिअ भट्टराइको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्