जब पढाई रोकियो, लाग्यो धरती भासियो !

  • नलेज लामिछाने

जीन्दगीमा कुन दिन कति नमिठो स्वाद भेटिन्छ भनेर कसलाई के पत्ता हुन्छ र । एकदिन एक्कासी मेरो जीन्दगीको स्वाद बिग्रीयो । मेरो चल्दा चल्दैको पढाइ रोकियो । सबसे नमिठो जीन्दगी सुरुवात भयो ।

प्राणीका लागि हावा रोकिनु जस्तो, माछिका लागि पानी सुक्नु जस्तो, मेरा लागि पढाइ रोकिनु भयो । पढाइ रोकियो । पढ्ने रहर भत्कियो, धरती भासिएको जस्तो लाग्यो। आँखाबाट खसेको झरिले मनमा पीर नाउको लेउ उम्रीयो । दिमागमा निराशाको राक्षसले बास गर्यो ।

निम्न मध्यम बर्गिय किसान परिवार । अपांगता भएको छोरो । बा आमाको काम खेतिपाती र घाँसपात । पेट भर्न त खासै समस्या थिएन । तर नगदले चल्ने कारोबार म जस्तै अपांगता भएका थिए । केहि गर्न ऋणको बैशाखी टेक्नैपर्ने बाध्यता थियो । सायद आम पहाडे कृषक परिवारको वेदना उस्तै हुन्छ, जस्तो सबैको आकाशमा लाग्ने बादल उस्तै हुन्छ।

खोइ कसको छाया परेर मेरो काया अपांग भयो । म सजिलरि हिड्न नसक्ने तर मेरा रहरहरु गगनभेदी तेजका थिए । शरिरले १ मिटर हिड्न नपाउँदै रहरहरु पृथ्वीको चार फन्को लगाइसक्थे । शरिरले २० किलो उठाउन धौ मान्थ्यो । तर मन देशको बोझ काँधमा बोकेर दौडन आतुर थियो ।

मनमा शहर गएर पढ्ने रहर उम्रीएको थियो । उ बेला, पढ्न शहर जाने फेसनले मालिकाको उचाइ छोइरहेको थियो । एसएलसी पछि शहर छिरेन भने त्यो के विद्यार्थी जस्तो भाष्य थियो । एउटा १६, १७ बर्षे किशोर मेरो मनमा शहरले कुकुत्याउनु कुन नौलो भयो र ? मलाइ पनि शहरिया पढाइ, टाइसुटवाला कलेज र अंग्रेजी मिडियमले मोहनी लगाएको थियो । बिडम्बना त्यो सौभाग्य मलाई मिलेन ।

भनिसकेँ, ऋण नलिइ खाना लाउने बाहेकका दिन घस्रीन्नथे । बा ले मलाई पढाउन ऋण पाउनुभएन या ऋण गरिगरि म जस्तो आयुको कुनै ठेगान नभएको रोगी अपांगलाई पढाउन मान्नु भएन । मेरो शहर जाने ,पढ्ने र केही गर्ने सपनामा आगो झोसियो ।

शहरमा आफन्तका घर थिए । कोहि आमा पट्टिका ,कोहि बाबा पट्टिका । ल उतै बसेर पढ्न पाए हुन्थ्यो भन्ने पनि नलागेको होइन । आफन्तको घरमा त ठाउँ थियो तर मनमा ठाउँ रहेनछ । मनै साँघुरो भएपछी घर जत्रो भए पनि भो, ठाउँ पाइने कुरै भएन । आफन्तहरुबाट आशको घरमा स्वागत भो, खासको घरमा पाइला टेक्न पाइएन।

म शारिरिक रुपमा केही अशक्त छु । म मेरो हालत स्विकार्न तयार छु । तर जो परेको बखतमा सहयोग गर्दैनन, उनिहरुको दया मलाई चाहिएको छैन । त्यस्तो दया मेरा लागि सुर्तिको रस जस्तै हो, थुकिदिन्छु । चुरोटको ठुटा जस्तै हो, कुल्चिदिन्छु । फ़ोहोर जस्तै हो घृणा गर्छु । तिनै आफन्तहरु बडो साखुल्ले बनेर भन्दथे, बाआमा पछि कसले खुवाउला यसलाई ? आमाबाको मृत्युसंगै मर्छ यो पनि ।

त्यो बेला यस्तो थियो । मेरै दाजुभाउजुलाई लाज लाग्थ्यो रे, म संग हिड्न । दाइ भाउजुले बालाइ भन्नुहुन्थ्यो, तिम्रो अपाङ्ग छोरा लिएर हिड्न लाज लाग्छ हामीलाई । उहाँहरु घर अपवित्र हुन्छ, अपांगताले सन्तान हान्छ भनेर अलग हुनुभो । बाआमासंग मलाई छोडेर बुढाबुडि अलग बस्न थाले उनिहरु ।

कुरा बुझ्थेँ। प्रतिकृयाको कुनै शब्द भेट्दिनथे। एक जोडि आँखाभरि टिलपिलाउने आँशु, डाँको भित्रै निलेर पिलपिलिएका ओठहरु मेरा प्रतिकृया हुन्थे । तर ती आवाजहिन प्रतिक्रिया को सुन्ने ? के हुन्छ एउटा बालकको मन दुख्दा ? झन हातखुट्टा नभएको, गर्न केही नसक्ने म जस्तोको मन दुखे त के फरक पर्छ र ? यस्तै लागेर होला आफन्त आउथे, एउटै मन हजारौं पल्ट दुखाएर जान्थे ।

म सुन्थे, चुपचाप हुन्थे । भित्र भित्रै रुन्थे । बस रोइरहन्थे ।
पीरको आराले मन अझ बढी तब चिर्थ्यो, जब सहर पढन गएकाहरु छुट्टिमा घर फर्किन्थे । फेसनका लुगा लगाएका, ठाडो कपाल लर्काएका, स्टाइलिस जुत्तामा ठाँटिएर गाउँका सबैलाई ढोग्दै हिड्ने उनिहरु देखेर जेठमासमा आगो लाग्ने घरमाथिको साल घारी भन्दा चर्को गरि दनदनी मन जल्थ्यो । आफुलाई सबैभन्दा अभागी ठान्थे । भाग्य लेख्ने भाविलाई गालीको बन्दुकले सरापको गोलि ठोकिरहन्थे ।

पढ्न गएका मित्रहरु म संग बोल्न अल्छी गर्थे । आँशु यति गज्जबको मित्र बनेको थियो, मनमा बादल लाग्ने बित्तिकै बर्षिन आइहहाल्थ्यो । मेरा गाला सुम्सुम्याउँथ्यो अनि मन हल्का भएपछी बिदा लिन्थ्यो । 
..............................

नौडाँडा काट्ने पखेटा भएका मेरा साथीहरु पंक्षी भएका थिए । उनिहरुको चालढाल, अदा र बोलिको लवजले मलाई गिज्याइरहेको हुन्थ्यो ।

म त पैतला नभएको मुढो । घर्सिन्थे आँगनभरि । हिलो र धुलो पनि मेरा अच्छा साथी बनेका थिए । मसंग फेसनेबल लुगा थिएन । सहरिया लवज थिएन । कुनै कलेजको म विद्यार्थी थिएन । सायद यिनै कारण साथीहरु मसंग बोल्न छाडिसकेका थिए ।

१ बर्ष बित्यो । साथिहरु अर्को कक्षा चढी सके । म जहाँको त्यही अड्किएको थिएँ । साथीहरु न्यु स्करपियो, म सडक छेउमा बिग्रीएको पुरानो टेम्पो । साथीहरु बगेको भेरी म खोपिल्टोमा अड्किएको पानी । बहुत दुख्थ्यो मन । हुन त म कक्षाको ट्यालेन्ट लेपन लागेको विद्यार्थी थिएँ । नियतिको पिँजडामा कैद भए पछि कसको के लाग्ने ?

मेरो मन दुखेको कसलाई के थाहा ? मान्छेहरु त मेरो मन दुखाएर दया गरेकोमा आफुलाई महान ठान्दथे ।

बाआमालाई खेतीसंग ज्यादा प्रेम थियो । मेरो पढ्ने मनको चाहना कहिल्यै बुझ्नुभएन । हुन त मेरै प्रेमले उहाँलाई खेतमा पुर्याउथ्यो होला । मेरै पेट भर्न दुख गर्नुहुन्थ्यो होला । म नभएको भए दाइभाउजु दिदिहरुले बाआमा लैजान्थे होला आफूसंग ।

घरमा पाहुना आए भने मेरो टपिकमा गफ सुरु भैहाल्थ्यो । जब गफ सुरु हुन्थ्यो म, म रहन्नथे। कहिले म बिचरो हुन्थे, कहिले म अभागी हुन्थे । कहिले पुर्व जुनिको पापी हुन्थेँ । त कहिले गरि खान नसक्ने परजीवी हुन्थेँ। तर मलाई म रहने मन थियो । शिखरको यात्रा गरेर सफलताको चुलिमा उदाहरणको झण्डा गाड्न मन थियो । मेरो एउटै ध्यान थियो त्यही शिखरको जग बसाउने, मतलब पढ्ने ।

बाले खेत बेचेर, दश लाख खर्च गरेर उपचार गरेको प्रसंग जो कोहिसंग सुनाउनुहुन्थ्यो । १० लाख मेरा लागि जीन्दगीभर कमाउन नसकिने पैसा हो जस्तो लाग्थ्यो । सम्झिएको बेला म आफैलाई बोझ हुँ जस्तो लाग्थ्यो । धर्तिले त बोझ मान्थ्यो कि नाइ था भएन । दुनियाँले बाआमाको बोझ त मानेकै थिए ।

पढाइ रोकिएको पनि ४ बर्ष बितिसकेछ । यी बर्षहरुमा वायुमण्डलको कती अक्सिजनलाई कार्बनडाइअक्साइड बनाएँ होला । कति पाइलाहरु आँगन वरपर डुलाँए होला । मनले कतिपल्ट आकाश धर्ती गर्यो होला । तर जीन्दगिमा खास बदलाव केही थिएन । न शरिरमा स्फुर्ती थियो, न मनमा उत्साह थियो । थियो त निराशा,आक्रोश र द्विबिधा मात्रै थियो ।
...............................................

जीन्दगी सधैं उस्तै चल्ने दौड पनि त होइन । गाडिको गियर बदलिय जस्तै अब जीवनको गियर बदलियो, मैले एउटा दाइ भेटाएँ । साँचो अभिभावक भेटाएँ । सपनाहिन जीवनबाट सपना देख्ने जीवन भेटाएँं। सपनाहिन जीवन ढुंगा जस्तै हुदो रहेछ । सपनासिल जीवन चंगा जस्तो । सायद सपना पूरा भएको जीवन गन्तव्यमा पुगेको जहाज जस्तो हुँदो हो ।

सपनै मुर्झाएको मलाई सपना देख्न सिकायो भेटिएको त्यही दार्इले । सपना नभएको जीवन श्वास नभएको शरीर जस्तो पो हुँदो रहेछ । म त जीउँदो लास बाँचेको रहेछु । हामीले नयाँ राजनीतिक भबिष्यको सपना देख्यौँ र कुद्न लाग्यौँ सपनाको मञ्जिल उन्मुख । सपनाका लागि काँडेघारिको यात्रा पनि स्विकार्न सकिने रहेछ। तरबारको धारमा पनि रोमाञ्चक यात्रा हुँदो रहेछ ।

हामीसंग उदाउँदो सुर्यको जस्तो ज्वाजल्यमान सपना थियो । हाम्रो सपनाको क्याप्टेन डिल्ली दाइ हुनुभयो । हामी अरु त्यो सपनाका सैन्य जवानहरु भयौँ । हामीले निशुल्क र सीपमुलक शिक्षाको सपना देख्यौँ । हामीले जनताको स्वास्थ्यको पुर्ण ग्यारेण्टी गर्ने राज्यसत्ताको सपना देख्यौँ । हामीले देशका भ्रष्टहरुलाई जेल हाल्ने सपना देख्यौँ । विशेष गरि हाम्रो नगरको कथा पुर्ण रुपमा बदलिदिने सपना देख्यौँ ।

...........................

हाम्रो सपना यो देशका शासकहरुलाई बिझाएछ । उनिहरुले हाम्रा हातमा हत्कडी लगाय ।
जेल कोचे। इन्काउण्टर आदेश गरे । बजारमा रोके । आफ्नै घर पनि घेरा हालेर घर जान परिवार भेट्न समेत रोके । तर पनि हामी झुकेनौँ । सत्ताले रोपेको कुनै काँडाले हामीलाई पीडा महशुस भएन । सत्ताले चलाएको कुनै गोलिले हामीलाई छुन सकेन । हाम्रो यात्रामा त हाम्रै आस्थाका सखिहरु अबरोध भए ।

हामीले गन्तव्य यथाबत राखेर बाटो फेर्यौँ । डिल्ली दाइले मलाई पत्रकारिता पढ्ने सल्लाह दिनुभो । हामीले मिडिया हाउस खोल्यौँ । म रुकुम खलंगा बसेर पत्रकारिताको ३ महिने अनलाईन कोर्स गर्न लागेँ । डिल्ली दाइले कोर्स र खानपिन सबै मिलाइदिनुभो ।

मेरो जीवनको बिशिस्ट कोर्स थियो त्यो । मज्जा आयो, क्षमता विकासको खास अवसर थियो । अब म पत्रकार भनेर चिनिन लागे । सबैले सुचनाको केन्द्रीकरण गर्न लागे। आपत बिपतमा परेकाले सम्झिन लागे । म समाजको दया पात्रबाट भरोसा पात्रको रुपमा विकास हुन लागेँ।

हिजोको गाउँको बिचरो म आज तर्कको हिरो भएँ । हिजोको गाउँभरीको सबसे अभागी आजको भरोसा भएँ । हिजोको अपाङ्ग आज समाजको खम्बा कहलिए। करिब करिब मेरो परिभाषा बदलिएको छ गाउँमा । अझै पर्याप्त भएको छैन । यो उठान हो सफलताको अब उडान र शिखरमा बैठान बाँकी नै छ । थाहा छैन यो यात्रा कहाँ पुग्छ । तर शिखर नपुगि अलबिदा नभन्ने कसम खाएको छु । पुग्नका लागि मसंग गन्तव्य छ, म त्यसमा खुशी छु।

मेरो जिन्दगीका तीन क्षण सदा स्मरणीय छन । पहिलो मेरो सपना भत्किएको पल । दोस्रो सपनाले पुनर्जीवन पाएको दिन । तेस्रो सपनाले सारथी पाएको क्षण । बाले जीवन दिनुभो र पुनर्जीवन पनि दिनुभो । डिल्ली दाइले बाको भुमिका बुझ्ने दृष्टिकोण दिनुभो, पुर्वाग्रह मुक्त गर्नुभयो । नयाँ सपनाका लागि तयार गर्नुभो । मेरि श्रीमती जसले मेरो सपना पूरा गर्न हरेक योगदान गर्ने वचन दिएर सपनामा सिँचाइ थपेकी छन । उहाँहरु सबैलाई बराबर आभार छ ।

मसँग त्यहि सपना छ । समाजको परिभाषा बदल्ने सपना । न्यायको सपना । सबैका लागि रोजगारमुलक शिक्षाको सपना । युवाहरुको लागि आफ्नै देश भित्र अवसरको सपना । यस्तै यस्तै सपना देखेको छु । था भएन, रंगीन हो या ब्ल्याक एण्ड व्ह्वाइट ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्