नेभिगेशन
समाज

द्वन्द्वपीडित महिलाका सवाल कुरामा मात्र सिमित भएको गुनासो

ओरेक नेपालले मनायो ३२ औं स्थापना दिवस

रुकुम पश्चिम / महिला पुनस्थापना केन्द्र (ओरेक) नेपालले ३२ औ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा ओरेक नेपालले आज रुकुम पश्चिमको मुसीकोटमा महिला शान्ती र सुरक्षा सम्बन्धीको दोश्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका द्वन्द्वपीडितहरुले महिलाहरुको अधिकारको सवाल कुरामा मात्र सिमित भएको उल्लेख गरेका छन् । तत्कालिन सशस्त्र जनयुद्धको बेला सर्वसाधारणले पाएका पीडाहरु सम्बोधन नभएको भन्दै पीडितहरुले पीडा सहेर बाँचन बाध्य भएको बताएका छन् । शान्ति स्थापना भएको लामो समयसम्म महिलाले पाएका पीडाहरु बल्झिरहेको उनीहरुको भनाई रहेको छ ।

कार्यक्रममा बाँफिकोट गाउँपालिका –२ की ६८ वर्षिया मंगली खत्रीले आफूहरुले पाएको पीडाले अझैपनि मल्हमपट्टि पाउन नसकेको बताउनुभयो । “जेठो छोरो आँखै अघि मारियो, घाईते भयौ, काख रित्तियो” मञ्चमा आसिन राजनीतिक दलका प्रमुख र सरकारी कार्यालयका प्रमुखहरुलाई इङगीत गर्दै उहाँले भन्नुभयो, “वनमै सुतिम, वनमै लुकिम, तपाईहरुलाई कुर्सीमा बस्ने बनायौ, हाम्रा पीडा त बुझिदिनोस् ।”

खत्रीले आफूहरु अध्याँरोमा बसेर नेताहरुलाई उज्यालोमा हिड्ने बनाएको नबिर्सन अनुरोध गर्नुभयो । नेता र कर्मचारी जन्माउने यीनै महिलालाई मेशिनको रुपमा मात्र नबुझ्न खत्रीले आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिवेणी गाउँपालिकाकी उमा ओली (नाम परिवर्तित) ले पीडाहरु असाध्यै भएको तर व्यक्त गर्न नसकिने अवस्था रहेको बताउनुभयो । भने पनि सुनिदिने कोई नभएकोले पीडाको गाँठो पारेर बस्नुपरेको उहाँको भनाई रहेको छ ।

द्वन्द्वको बेला पाएको हिंसाको कारण आफ्नो ज्यान आधा भएको बताउनुहुँदै ओलीले अझैसम्म मर्नु न बाँच्नुको अवस्थामा दिन धकेल्नुपरेको उल्लेख गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोगमा न्याय पाउने आशामा उजुरी दिएपनि केहि अत्तोपत्तो नभएको उहाँको गुनासो रहेको छ ।

कार्यक्रममा बाँफिकोट गाउँपालिकाकी हरिमाया के.सी. (नाम परिवर्तित) ले गाउँमा सरकार हुँदा पनि पीडितको घाउमा मल्हम समेत लाउने काम नभएको बताउनुभयो । “न बालबच्चाहरुले गतिलो शिक्षा पाउन सके, न हाम्रा पीडा कम भए” के.सी.ले भन्नुभयो, “मृत्युको मुखबाट बचेका हामी महिलाहरुका पीडा यथावत छन् ।” उहाँले पीडितहरुको पीडा सम्बोधनको लागि स्थानीय सरकारले कार्यक्रम र बजेट ल्याउन नसकेको समेत उल्लेख गर्नुभयो ।

ओरेक नेपालका जिल्ला संयोजक दिपा धितालले द्वन्द्वको बेलामा भएका यौन शोषणका घटनाहरुले गहिरो मनोवैज्ञानिक असर परेको जानकारी दिनुभयो । उहाँले मनौवैज्ञानिक असरको कारण पारिवारिक र सामाजिक बेमेल हुने गरेको उल्लेख गर्नुभयो । ओरेकको तथ्याङकमा मात्र करिब एक सय जना जिल्लाका महिलाहरु यौन हिंसाको शिकार भएको धितालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला संयोजक धितालले एक कार्यपत्र मार्फत ओरेक नेपालले गरेका गतिबिधि र संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयनका लागि तयार भएको दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले जनयुद्ध र अन्य आन्दोलनहरुले दिएका उपलब्धिहरुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । पीडितमैत्री कार्यक्रम र बजेटको खाँचो रहेकोले त्यतातर्फ ध्यान दिन जरुरी रहेको उहाँको भनाई रहेको छ ।

समन्वय प्रमुख गौतमले संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयनका लागि तयार भएको दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि चाँडै नै जिल्लामा समिति बनाएर काम गर्ने जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले द्वन्द्वकालमा यौनशोषणको विषय अत्यन्त चुनौतिपूर्ण भएकोले आवश्यक संयन्त्र मार्फत सम्बोधन गरिनुपर्ने बताउनुभयो । उहाँले नागरिकको जीवनस्तर उठाउन, राज्य संयन्त्रसम्म पीडितको पहुँच पु¥याउन सबैको ऐक्यबद्धता जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले शान्ति प्रक्रिया टुंगोमा नलागेको र वर्तमान सरकार त्यसतर्फ गम्भिर रहेको जानकारी दिनुभयो । उहाँले पीडा समन गर्न स्थानीय सरकारले राहत तथा परिपूरणका लागि बजेट विनियोजन गर्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहभागी मुसीकोट नगरपालिका प्रमुख महेन्द्र के.सी. र त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश के.सी. कानूनी व्यवस्थालाई व्यवहारमा लागु गर्न कठिनाईहरु रहेतापनि पीडितमैत्री कार्यक्रम र वजेट व्यवस्थापनका लागि प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटा, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष ब्युझना पुन, मानव अधिकार संरक्षण सञ्जालका अध्यक्ष नरबहादुर लम्साल लगायतले ओरेक स्थापना दिवसको शुभकानासँगै महिला अधिकारको सवालाम एकजुट हुन आग्रह गर्नुभएको थियो ।

ओरेक नेपालका करुणा रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम जिल्ला संयोजक दिपा धितालको अध्यक्षमा सम्पन्न भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर