नेभिगेशन
समाज

‘कर्णाली कायापलट’मा होमिएकी रुकुमकी साहसी चेली

एक एक गर्दै कर्णालीका गुमनाम पर्यटकीय गन्तव्य ‘एक्सप्लोर’ गर्दै’

नाम : सिर्जना सिज्जु

पेशा : पर्यटन अभियान्ता (ट्राभलर)

कर्णाली व्यक्तित्व नं. : ७४

सुर्खेत / ‘कर्णाली पर्यटनमार्फत अहिल्यै कायापलट हुन्छ भनेर लागेको होइन, अबको १० वर्षपछि कर्णालीमा लाखौँ पर्यटकको भीड हुन्छ’, जुम्लाको नयाँ पर्यटकीय गन्तव्य ‘स्काई लेक’ अर्थात आकाशे तालको पहिलो फोटो आफैैँले फेसबुकमा सार्वजनिक गरेपछि सिर्जना सिज्जुले राखेको गहकिलो तर महत्वाकांक्षी अभिव्यक्ति हो यो ।

पछिल्लो एक वर्षदेखि ठूला चुनौति पन्छाउँदै कर्णालीलाई केन्द्रविन्दुमा राखेर यात्रा गरिरहेकी पर्यटन यात्री हुन्, सिज्जु । ‘फरेस्ट्री’ विषय पढेर पनि पर्यटनमै होमिएकी उनको सपना विशाल छ । जति विशाल कर्णालीको सम्भावना र भविष्य छ । 

एक्लै भएपनि विभिन्न पर्यटकीय गन्तव्यमा पुगिरहने सिज्जु पछिल्लो समय कर्णालीमा नयाँ नयाँ पर्यटकीय गन्तव्य खोज्न लागिपरेकी छन् । हातमा मोबाइल क्यामेरा, साथमा टुरिस्ट पोशाक र ब्याग बोकेर हिडिहाल्ने उनको स्वभावले धेरै पर्यटन क्षेत्रका सरोकारवालालाई नै अचम्मित पारिदिन्छ ।

उनी कुनै ठूलो तामझाम गर्दिनन् । कुनै ठूलो हो–हल्ला गर्दिनन् । केवल पुग्नुपर्ने ठाउँमा जस्तै दुःख गरेर पनि पुगेपछि मात्रै फोटोमार्फत सबै कुरा बोल्छिन् । जसले उनका दुःख भुलाएर घुम्न मन पराउनेलाई ‘सरप्राइज’ दिइरहेको छ ।

सिज्जुले व्यक्तिगत प्रयास र जोडबलमा जुम्लाको आकाशे तालको ‘एक्सप्लोर’ गरेकी थिइन् । त्यसबाहेक उनले कर्णालीका आधा दर्जन नयाँ पर्यटकीय गन्तव्यको पनि ‘एक्सप्लोर’ गरेकी छन् । 

उनले व्यक्तिगत प्रयासमा कर्णालीका जति पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेकी छन्, त्यति कर्णाली प्रदेश सरकारले नै देखिने र भेटिने गरि प्रचार प्रसार गर्न सकेको छैन । यसकारण पर्यटनमार्फत कर्णालीको कायापलट गर्न होमिएकी सिज्जु एक साहसी ‘एक्सप्लोरर’ हुन् ।

उनले नेतृत्व गरेको अहिलेकै अभियानले मात्रै निरन्तरता पाउने हो भनेपनि कर्णालीमा उनले भनेजस्तै १० वर्षपछि लाखौ पर्यटक भित्र्याएर कर्णालीको आर्थिक समृद्धि सम्भव तुल्याउन सकिन्छ ।

कर्णालीको अथाह पर्यटकीय सम्भावना बाहिर ल्याउने साहसी युवती सिर्जना सिज्जुलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७४ औँ स्थानमा समेटेका छौँ । - कर्णालीखबर डटकमबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज