नेभिगेशन
समाज

सोलाबाङको सुरक्षा व्यवस्थापनको लागि ६ वटा सिसीक्यामेरा जडान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ स्थित सोलाबाङ बजारमा स्थानीयले रकम उठाएर सिसीक्यामेरा जडान गरेका छन् । राप्ती राजमार्गमा अवस्थित बजारको सुरक्षाको लागि भन्दै उनीहरुले छ वटा सिसीक्यामेरा जडान गरेका हुन् । 

सोलाबाङ बजारलाई नमूना बजार बनाउने कोशिस अनुसार सुरक्षा व्यवस्थानमा नयाँ पहल गरिएको बजार व्यबस्थापन समितिका सल्लाहकार बिमल कुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजार व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीइको सक्रियतामा बजारका प्रत्येक व्यापारी र घरधुरीबाट मासिक रुपमा संकलन गरिएको रकमले सिसि क्यामेरा खरिद गरिएको हो । हरेक महिना व्यवसायी तथा स्थानीयबाट एक सय रुपियाँका दरले संकलन गरिएको रकमबाट सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । 

सल्लाहकार शर्माले बजार क्षेत्रको शान्ति, सुरक्षा कायम राख्नुका साथै चोरी, आपराधिक गतिविधि तथा अन्य अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न यसले महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो । उहाँले बजार क्षेत्र हुँदै गुड्ने यातायातका साधनहरुको गति नियन्त्रण तथा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन पनि सीसी क्यामेराले सहयोग पुर्याउने छ । 

बजार व्यवस्थापन समितिका अध्यक्ष बिष्णु केसीले स्थानीय व्यापारी तथा घरधुरीको सानो–सानो आर्थिक योगदानलाई सामूहिक बचत र सहकार्यका माध्यमबाट बजारको हितमा उपयोग गरिएको बताउनुभयो । उहाँले सामूहिक प्रयास, स्थानीय सहभागिता र जिम्मेवार नेतृत्वबाट नमूना बजार निर्माण गर्न सकिन्छ भन्ने उदाहरण सोलाबाङ बजारले प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

कहिलेकाँहि चोरीका घटना हुँदा, दुर्घटना हुँदा सम्बन्धित पक्ष पत्ता लगाएर कानूनी दायरामा ल्याउन कठिनाई हुने गरेकोले बजारमा क्यामेरा जडान गर्न अत्यावश्यक ठानिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले स्थानीयवासीले असाध्यै प्रशंसनीय कार्य गरेको बताउनुभयो । स्थानीयवासीहरुको अग्रसरतामा भएको यस कार्यले बजार क्षेत्रको चोरी नियन्त्रण, सुरक्षा मजबुती, शान्ती तथा अमनचयनमा टेवा पुग्ने उहाँको भनाइ छ ।

सचेत नागरिकले राज्यका निकायलाई समेत मदत पुग्ने गरी गरेको सामुहिक प्रयासले समाजलाई नै उचित फल दिने डिएसपी पौडेलको भनाइ रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज