नेभिगेशन
समाज
चाडपर्व सुरक्षा योजना

रुकुम पश्चिमका १० स्थानमा यात्रु सहायता कक्ष, ३७२ प्रहरी परिचालन

रुकुम पश्चिमका विभिन्न स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै तयार पारेको चाडपर्व सुरक्षा योजना, २०८३ अनुसार दश स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो भने ३७२ प्रहरी परिचालन गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्ररही निरीक्षक झविन्द्र परियारका अनुसार चाडपर्वका समयमा सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधन, निजी आवास, व्यापारिक स्थल, बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसलमा नागरिकको चहलपहल तथा आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित अपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा योजना लागू गरिएको हो  । 

चाडपर्वका समयमा हुन सक्ने झैझगडा, चोरी, लुटपाट, जुवातास तथा सवारी दुर्घटनाजस्ता घटनालाई न्यूनीकरण गरी नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा योजना तयार गरिएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो ।

यात्रुहरूको सुरक्षा तथा सहज आवागमनलाई मध्यनजर गर्दै झुल्नेटा, सोलाबाङ, चौरजहारी, सिम्ली, आठबिसकोटको राडी बजार, गोतामकोट बजार, साँख, शीतलपोखरी बजार, बागबजार र मठ गरी १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। उक्त सहायता २०८३ असोज २४ गतेदेखि सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

चाडपर्व अवधिभर जिल्लामा कुल ३७२ जना प्रहरी कर्मचारी परिचालन गरिनेछ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ८ वटा गाडी मोबाइल, १२ वटा मोटरसाइकल गस्ती, २५ वटा पैदल गस्ती, १४ स्थानमा ग्रामीण गस्ती, ३ वटा स्ट्राइकिङ टोली तथा विभिन्न स्थानमा ८ वटा मादक पदार्थ सेवन जाँच टोली ,८ वटा  संयुक्त चेकिङ र ८ वटा आकस्मिक चेकिङको व्यवस्था गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय आठबिसकोट र चौरजहारीमा १५/१५ जनाको स्ट्राइकिङ टोलीसमेत राखिएको छ। यसका साथै सरकारी तथा गैरसरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान र बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि २४ सै घण्टा सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाएको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज