नेभिगेशन
समाज

जिल्ला प्रशासनमा निवेदन, फाराम, फोटोकपी, स्क्यान, ईमेल र प्रिन्ट सेवा निःशुल्क

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सेवाग्राहीलाई सहज, सरल र सेवामैत्री सेवा उपलब्ध गराउनको लागि विभिन्न प्रकारका सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर ओलीका अनुसार सेवाग्राहीले अब जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फाराम भर्ने सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् भने राष्ट्रिय परिचयपत्र र राहदानीका लागि अनलाइन फाराम भर्ने सेवा समेत निःशुल्क गरिएको छ । 

यसैगरी फोटोकपी तथा स्क्यान सेवा र इमेलमार्फत पत्राचार गरी आवश्यक अभिलेख पठाउने तथा प्राप्त गर्ने र प्रिन्ट गर्ने सेवा पनि निःशुल्क उपलब्ध गराउने सहायक प्रमुख जिल्ला अधिकारी ओलीले बताउनुभयो ।

कार्यालयको नागरिक सहायता कक्ष तथा सम्बन्धित शाखाबाट प्रदान गरिने गरी यी सेवाहरु निःशुल्क गरिएको हो । प्रशासन कार्यालयले यी सेवाहरु निःशुल्क उपलब्ध हुने भएकाले आवश्यक सहयोगका लागि नागरिक सहायता कक्ष वा सम्बन्धित शाखामा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सेवा लिन सहज वातावरण निर्माण गर्न यो सेवा थप गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई थप सरल र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । 

प्रशासन कार्यालयले यस अघि घरमै राहदानी पु¥याउन जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरेर सेवाग्राहीलाई सहजता दिलाएको छ । यसैगरी कार्यालयले दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गरेर पारदर्शी सेवा प्रवाहमा नमूना कार्य गरिरहेको छ भने टोकन सिस्टम सञ्चालन गरेर सेवाग्राहीलाई सहज बनाएको छ । 

सम्बन्धित समाचारहरु :

अब घरमै राहदानी पुर्‍याईने, रुकुम पश्चिम प्रशासन र हुलाकबिच समझदारी

जिल्ला प्रशासन कार्यालयमा टोकन सिस्टम लागु

रुकुम प्रशासनद्वारा दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज