नेभिगेशन
समाज

यात्रुलाई खाना खानुस् भनेर चालक लागूऔषध सेवनमा मस्त

जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित छेडा बजारबाट लागूऔषधसहित एक जना जीप चालक पक्राउ परेका छन्।

सुर्खेत र जाजरकोटको सीमा क्षेत्रमा पर्ने छेडा बजारस्थित एक होटलबाट प्रहरीले चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी बजारका २४ वर्षीय शशीराम परियार रहेका छन्।

शनिबार बाँकेको नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको लु.प्र.०१००१ च १७४० नम्बरको बोलेरो जीपका चालक परियारलाई लागूऔषध जस्तो देखिने एक पुडिया पदार्थ, नगद ३ हजार ५७० रुपैयाँ र अन्य सामग्रीसहित पक्राउ गरिएको प्रहरी चौकी छेडाले जानकारी दिएको छ ।

जीपका यात्रुहरूलाई खाना खुवाउन होटलमा झारेर उनी लामो समयसम्म सम्पर्कबिहिन भएका थिए ।
होटेलको कोठामा चालक रहेको र बाहिर नआएको सूचना प्रहरी चौकी छेडामा पुगेपछि प्रहरी टोलीले कोठामा खोजतलास गर्दा परियारलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्