नेभिगेशन
समाज

राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ

सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धका सामग्री प्रकाशन तथा प्रसारण गरी सुरक्षा निकाय तथा राष्ट्रसेवकप्रति घृणा–द्वेष फैलाएको आरोपमा प्रहरीले रुकुम पश्चिमका एक युवकलाई काठमाडौंमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२, स्यानीबार्खु घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८, बानियाटार बस्दै आएका २७ वर्षीय जनक परियारलाई काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिइएको हो

प्रहरीका अनुसार विपद्को अति संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा अवरोध सिर्जना हुने गरी सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूका सम्बन्धमा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन, प्रसारण गरी सुरक्षा निकाय तथा राष्ट्रसेवकप्रति घृणा–द्वेष फैलाउने काम गरेको आरोप परियारमाथि छ।

यस्ता गतिविधिले नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। परियारविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार परियारले यसअघि पनि सामाजिक सञ्जालमा विभिन्न गलत सूचना, अफवाह तथा धार्मिक घृणा–द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोही विषयमा पक्राउ परी छुटेको भन्ने सम्बन्धमा समेत थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले एक प्रेस विज्ञप्ति जारी गरेर परियार प्रकाउ बारे जानकारी दिनुभएकाे हाे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्