नेभिगेशन
समाज

प्रशान्तको खोजीका लागि परिवारको अनुरोध

गत मंगलबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको तिल्चा खोलाले बगाएका मुसिकोट नगरपालिका ४ का प्रशान्त सन्यासी अझैसम्म फेला परेका छैनन् ।  

बाँफिकोटको वडा नम्वर ३ र ४ मा रहेको तिल्चा खोलाले बगाउँदा बेपत्ता भएका १८ वर्षीय प्रशान्त सात दिनसम्म पनि फेला नपरेपछि परिवारजनले खोजीको लागि अपिल गरेका छन् । 

प्रशान्तका बुवा केशव सन्यासीले एक मात्र छोरालाई खोलाले बगाएपछि हालसम्म निरन्तर खोजी गरिरहेको तर फेला नपरेको बताउनुभयो । छोराको सास वा मृत शरिरको टुंगा नहुँदा परिवारजन थप पीडामा भएको केशवले बताउनुभयो । नदि किनार वा खोचहरुमा कुनै पनि अवस्थामा प्रशान्त फेला परेमा प्रहरी वा आफन्तजनमा खबर गरिदिन उहाँले अनुरोध गर्नुभएको छ । 

तिल्चा खोला भेरी नदिमा मिसिन्छ । प्रशान्तलाई तिल्चा खोलाले बगाएर भेरीनदिमा मिसाएको आशंका गरिएको छ । धमिलो र बहाव बढेको भेरी नदिको कारण प्रशान्तको अवस्था पत्ता लाग्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार प्रशान्तको खोजी निरन्तर भईरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र आफन्तजनहरुले लगातार नदि किनार तथा खोचहरुमा खोजी कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । यसका साथै सल्यान, जाजरकोट, सुर्खेत लगायतका जिल्लामा प्रशान्तको हुलिया टिपाएर खोजीका लागि अनुरोध गरिएको छ । 

गत मंगलबार मुसिकोट खलंगाबाट स्यार्पुताल हेर्न जाने भन्दै रा ६ प १६१८ नम्वरको मोटरसाइकलमा गएका प्रशान्तलाई खोलाले बगाएको थियो । मोेटरसाईकलको पछाडी रहेका एक युवा भने ढुंगामा अड्किएपछि सकुशल उद्धार गरिएको थियो । 

प्रशान्त मुसिकोटमा रहेको न्यू मूनलाईट बोर्डिङ स्कुलमा कक्षा १२ मा अध्ययनरत थिए । 

सम्बन्धित समाचार ...

तिल्चा खोलाले बगाएका सन्यासी अझै भेटिएनन्

रुकुम पश्चिममा खोलाले बगाउँदा एक बेपत्ता, एक जनाको उद्धार
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्