नेभिगेशन
राष्ट्रिय
भूकम्पपछिको पुनर्निर्माण

रुकुम पश्चिमका ७६६ भूकम्प पीडितको आवास निर्माणको पहिलो किस्ता माग

भूकम्प प्रभावितहरुमा बढ्यो आवासकाे लागि अनुदान पाउने आश

२०८० कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति भएका रुकुम पश्चिमका निजि आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम माग भएको छ ।

मङ्गलबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ७६६ जना लाभग्राहीको आवास निर्माणको लागि पहिलो किस्ताको रकम माग गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भूकम्प प्रभावितहरुमा आवास निर्माणका लागि अनुदान पाउने आशा बढेको छ । 

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार भूकम्प प्रभावित निजि आवास पुनर्निर्माण कार्यविधि, २०८० (संशोधनसहित) बमोजिम सम्झौता गरी आवश्यक कागजात तथा प्रक्रिया पुरा गरेका लाभग्राहीहरुको लागि आवास निर्माणको अनुदान माग गर्ने निर्णय भएको छ । उहाँले सम्पूर्ण प्रक्रिया पुरा गरेर स्थानीय विपद् व्यवस्थापन समितिबाट रकम मागका भई आएकाहरुको विवरण रुजु गरेर राष्ट्रिय विपद् जोखिम न्यूनकिरण तथा व्यवस्थापन प्राधिकरणमा प्रथम किस्ताको रकम निकासाको लागि अनुरोध गर्ने निर्णय भएको बताउनुभयो । 

प्रशासन कार्यालयका अनुसार पुनर्निर्माणका लागि प्रति लाभग्राही ५० हजारका दरले पहिलो किस्ता तीन करोड ८३ लाख रुपियाँ माग गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिकाका ६५ जना, चौरजहारी नगरपालिकाका १६२, त्रिवेणी गाउँपालिकाका ३०२ र सानीभेरी गाउँपालिकाका २३७ जना लाभग्राहीको लागि पहिलो किस्ता माग गरिएको हो । यी प्रभावितहरु भूकम्पअघि आफ्नै नाममा जग्गाधनी पुर्जा भएका र अन्य सम्पूर्ण प्रक्रिया पुरा गरेका लाभग्राहीहरु हुन् ।

जिल्लाको आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाबाट भने पहिलो किस्ताको लागि प्रक्रिया पुरा गरेर रकम माग गरिएको विवरण प्राप्त नभएको बताईएको छ । आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले प्राधिकरण र प्रशासनबाट प्राप्त विवरण अनुसारको तथ्याङ्क वडास्तरबाटै पुनः प्रमाणिकरण भई अपलोड हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले एक हप्ताभित्रै केहि लागग्राहीहरुको लागि पहिलो किस्ता माग गर्ने तयारी रहेको जानकारी गराउनु भयो । उपप्रमुख शाहीले लामो प्रक्रिया पार गरेर प्रभावितहरुको आवास बन्ने आशा बढेको बताउनुभयो । 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति रिम प्रसाद शर्माले वास्तविक लाभग्राहीहरु छुट्न नहुने र भूकम्प अघि नै पक्की घर निर्माण गरेकाहरुको विवरण अनुदानमा पाउनेमा देखिएको त्यसतर्फ सजक हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले) का जिल्ला अध्यक्ष नन्दराम देवकोटाले अव प्रभावितहरुको घर निर्माणको प्रक्रियामा सरकारी अनुदान प्राप्तीको बाटो सुरु भएको बताउनुभयो । यस कार्यले पीडितहरुलाई ठुलो राहत हुने उहाँले उल्लेख गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बसन्त कुमार शर्माले भूकम्प गएको दुई वर्ष नौ महिनापछि पीडितहरुले घर बनाउन पाउने सम्भावना देखिएको बताउनुभयो । उहाँले भूकम्प प्रभावितहरुलाई समेट्ने गरी कार्यविधि संशोधन गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । 

प्रशासन कार्यालयको तथ्याङक अनुसार भूकम्पको कारण घर क्षति भएका ३० हजार ८५० जनाको क्षति विस्तृत विवरण प्राधिकरणले तयार गरेको छ । त्यसमध्य कार्यविधि अनुसार प्रक्रिया पुगेकाहरुको आवास निर्माणको लागि किस्ता माग सुरु भएको छ । अब क्रमिक रुपले लागभ्राहीहरु यकिन भएर आउने र सोहि अनुसार अनुदान रकमको किस्ता माग हुने प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय