नेभिगेशन
राष्ट्रिय

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका चार कैदी पक्राउ

छानबिन टोली डोल्पामा

डोल्पा जिल्ला कारागारबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन् । यससँगै फरार कैदी पक्राउको संख्या चार पुगेको छ । 

आज (बुधबार) बिहान जिल्ला प्रहरी कार्यालय डोल्पाबाट डिएसपी अनिलराज गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बाट थप दुई जनालाई नियन्त्रणमा लिएको हो । मङगलवार रुकुम पश्चिम प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । 

डिएसपी गिरीका अनुसार आज त्रिपुरासुन्दरी नगरपालिका -४ रंगमा रहेको कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका -७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकाय रोकाय र जाजरकोटको नलगाड नगरपालिका -९ घर भएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन् । रोकाय जबरजस्ती करणी मुद्धामा र परियार चोरी मुद्धामा सजाय तोकिएका कैदीबन्दी हुन् । उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईएको छ । 

मङगलवार रुकुम पश्चिम प्रहरीले आठबिसकोट नगरपालिका -६ स्थित दामाचौरको खोलीबगरबाट दुई जनालाई पक्राउ गरेको थियो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका -५ का २८ वर्षीय रेशम राना पक्राउ परेका हुन् । उनीहरु दुबै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दी हुन् । 

गत शनिवारका दिन बिहान डोल्पाको ठूलीभेरी नगरपालिका -३ स्थित जिल्ला कारागारबाट सुरुङ खनेर उनीहरु फरार भएका थिए । फरार भएका आठ जना कैदीबन्दी मध्य चार जना पक्राउ परेका हुन् भने थपचार जनाको खोजीकार्य तिब्र पारिएको डिएसपी गिरीले जानकारी दिनुभयो । 

छानबिन टोली डोल्पामा

यसैबिच कारागारबाट सुरुङ खनेर कैदीबन्दी फरार भएको घटनाको छानबिनको लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतको नेतृत्वको टोली डोल्पा पुगेको छ । 

दुवै टोलीले कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनु अघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्ने बताईएको छ । डीआईजी र केन्द्रको टोलीले स्थलगत रुपमा समग्र अनुगमन र अध्ययन गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले घटनाको अनुसन्धान गर्न यसअघि प्रहरी निरीक्षक विनयकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्