नेभिगेशन
राष्ट्रिय
जाजरकोट भूकम्पका तीन वर्ष 

पुनर्निर्माणकै पर्खाइमा भूकम्पपीडित 

वि.सं. २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको आज तीन वर्ष पुगेको छ । रातको ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पले रुकुमपश्चिम, जाजरकोट र सल्यानमा ठुलो जनधनको क्षती गरेको थियो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक अनुसार जाजरकोट र रुकुम पश्चिमका १५४ जनाको ज्यान गयो भने २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आशिंक क्षति भएका छन् । ३६४ घाईते घाईते भएका थिए । 

भूकम्प गएको केहि महिना त्रिपालमूनि र त्यसयता टहरामा दैनिकी गुजारीरहेका भूकम्प प्रभावित परिवारहरु अझैसम्म सुरक्षित आवासको आशामै रहेका छन् । उनीहरु पुनर्निर्माणको आशामा मार्न सकेका छैनन् । विनाशकारी भूकम्प गएको तीन वर्षसम्म पनि प्रभावित नागरिकहरु अस्थायी आवास (टहरा) मै खुम्चिएका छन् ।

भूकम्पको बेला पुनर्निर्माणमा ढिलाई नगर्ने र पीडितकै साथमा रहेको बताएको संघीय सरकारले अस्थायी आवास निर्माणकै कामलाई पुरा गर्न नसकेको गुनासो रहेको छ । भूकम्पबाट श्रीमान् र एक छोरा गुमाउनु भएकी सानीभेरी गाउँपालिका –४ की माया घर्तीले अझै पनि सुरक्षित आवास पाउन नसकेको बताउनुभयो । ‘श्रीमान् र छोरा गुमाए, व्यापार गर्दै आएको घर ध्वस्त भयो,’ उहाँले भन्नुभयो, ‘त्यस्तो बेला त्रिपालमूनि बसेर बाँच्यौ, गर्मीमा टिनको टहरामा उकुमुकुस भयो, अब फेरि चिसो सुरु भयो ।’ 

आठबिसकोट नगरपालिका –१४ का रमेश मल्लले पुस, माघको जाडोमा त्रिपालमूनि र गर्मीयाममा जस्तापाताको टहरामूनि कष्टकर दैनिकी बिताउनु परेको बताउनुभयो । भूकम्पले घरबारबिहिन बनाएको सुरुको केहि महिना कठ्याङिग्रदो चिसो र त्यसपछि चर्को गर्मीको सामना गरेर दिन कटाउन बाध्य भएको बताउनहुँदै उहाँले अझैपनि सुरक्षित आवास पाउन नसकेको गुनासो गर्नुभयो । 

भूकम्पपीडितहरुले पुनर्निर्माणको पखाईमा तीन वर्ष बितेको बताउँछन् । उति बेला ओत लगाउन त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रवन्ध भएतापनि समयमै पूनर्निर्माणको काम हुन नसकेको पीडितहरुको भनाई छ । टहरामा बनाइएका अस्थायी आवास चिसो र गर्मीको लागि उपर्युक्त नभएको, साँघुरो भएको प्रभावितहरु बताउँछन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ढिला गरी सुरु गरेको क्षतिको विस्तृत आकलनको काम अझै टुंगिएको छैन । पीडितहरुले क्षतिको विवरणमा पनि चित्त बुझाएका छैनन् । उनीहरुले सरकारले गम्भिर भएर विवरण संकलन नगरेको, त्रुटीपूर्ण विवरण संकलन गरेको जनाएका छन् । 

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले छ महिना भित्र पुनर्निर्माण सुरु हुने अपेक्षा रहेतापनि तीन वर्षसम्म हुन नसकेको बताउनुभयो । संघीय सरकारले कार्यविधि बनाउन गरेको ढिलाई, विस्तृत क्षति आकलनमा भएको लापरबाहि लगायतका कारणले पुनर्निर्माण सुरु हुन नसकेको उहाँको प्रतिक्रिया रहेको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले ७६६ जना लाभग्राहीको आवास निर्माणको लागि राष्ट्रिय विपद् जोखिम न्यूनकिरण तथा व्यवस्थापन प्राधिकरणमा पहिलो किस्ताको रकम माग गरिएको बताउनुभयो । भूकम्प प्रभावित निजि आवास पुनर्निर्माण कार्यविधि, २०८० (संशोधनसहित) बमोजिम सम्झौता गरी आवश्यक कागजात तथा प्रक्रिया पुरा गरेका लाभग्राहीहरुको लागि आवास निर्माणको अनुदान माग गरिएको हो ।

भूकम्पको कारण घर क्षति भएका ३० हजार ८५० जनाको क्षति विस्तृत विवरण प्राधिकरणले तयार गरेको छ । त्यसमध्य कार्यविधि अनुसार प्रक्रिया पुगेकाहरुको आवास निर्माणको लागि किस्ता माग सुरु भएको छ ।  जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमको तथ्याङक अनुसार जिल्लाभर ३२ हजार ९९६ घरधुरी लाभग्राही रहेका छन् । दुई हजार दुई जनाले अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताकै रकम पाएका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय