नेभिगेशन
राष्ट्रिय

डोल्पा घटना : 'दुई रड र चुलेसी प्रयोग गरी सुरूङ खनेका थिए भागेका कैदीले'

भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको खोजीका लागि झन्डै डेढ सय प्रहरी परिचालन गरिएको छ। उनीहरूको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् भने कर्णाली प्रदेश प्रहरी कार्यालयसहित आसपासका जिल्लाका प्रहरीलाई पनि सतर्क अवस्थामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पा मातहतका विभिन्न युनिटबाट एक सयभन्दा बढी प्रहरी खोजीमा परिचालित छन्। जिल्लाका २५ स्थानबाट प्रहरी टोली खटिएको छ। त्यसबाहेक सशस्त्र प्रहरीका ३३ जना पनि खोजीमा संलग्न छन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीसहितको टोली बिहानैदेखि खोजीमा खटिएको छ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी डेढ सय हाराहारीमा हामी खटिएका छौँ,’ डिएसपी गिरीले भने, ‘त्यसबाहेक आसपासका सबै जिल्ला अलर्ट छन्। सबैसँग समन्वय भइरहेको छ। भागेका कैदीबन्दी लुक्न सक्ने वनजंगलमा पनि प्रहरी परिचालित छन्।’

तर शनिबार बेलुकी ४ बजेसम्म भागेकामध्ये कोही पनि फेला नपरेको प्रहरीले जनाएको छ।

जेलर दीर्घ आरसीका अनुसार कैदीबन्दीले सुत्ने कोठाको झ्यालमा रहेको रड निकालेर सुरूङ खन्न प्रयोग गरेका थिए। आठै जना छुट्टै हलजस्तो कोठामा राखिएका थिए। उनीहरूले सुत्ने कोठाबाट पर्खालमुनि सुरूङ खनेर शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर निस्किएको देखिएको छ।

‘पर्खालमुनि सिमेन्टको पक्की संरचना (डीपीसी) गरिएको रहेनछ,’ जेलर आरसीले भने, ‘त्यहीँबाट सुरूङ खनेर शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर निस्किएर भागेको देखिन्छ।’

उनका अनुसार यो खुला कारागार हो। कैदीबन्दी भागेको ठाउँ दुई अग्ला पर्खालबीचको भागमा पर्ने भएकाले सीसीटीभीको निगरानीमा थिएन। त्यसैले उनीहरू कुन समयमा भागे भन्ने यकिन हुन सकेको छैन।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुरूङ खन्न प्रयोग गरिएका दुईवटा साना फलामे रडका टुक्रा र तरकारी काट्न प्रयोग हुने एउटा पुरानो चुलेसी बरामद भएको छ। तर, झ्यालको रड निकालेर सुरूङ खनेको भन्ने कुरा आफूले पुष्टि गर्न नसक्ने उनले बताए।

ती औजार कैदीबन्दीले कारागारभित्र कसरी प्राप्त गरे भन्ने विषय अनुसन्धानकै क्रममा छ। ती अधिकारीका अनुसार सुरूङको लम्बाइ १५ फिट दुई इन्च अर्थात् झन्डै चार मिटर छ।

‘त्यहाँ बलौटे माटो देखियो। त्यो हातले नै खन्न र खोस्रन मिल्ने खालको थियो,’ उनले भने, ‘आठ जना मिलेर धमाधम खनेका भए एकै दिनमा पनि सुरूङ तयार भएको हुन सक्छ।’

तर, उनीहरूले केही दिनअघिदेखि नै सुरूङ खन्ने योजना बनाएर औजार जम्मा गरेको हुन सक्ने उनको भनाइ छ। शुक्रबार बेलुकीदेखि परेको पानीले जमिन भिजेर नरम भएको र चिसो बढेकाले पनि उनीहरूलाई सुरूङ खन्न सहज भएको हुन सक्ने ती अधिकारीको विश्लेषण छ।

सुरूङ खनेको माटो फाल्न उनीहरूले पानी नभएको सेफ्टी ट्यांकी प्रयोग गरेको हुन सक्ने प्रहरी अधिकारीको अनुमान छ। उक्त ट्यांकी दुई अग्ला पर्खालबीच पर्ने र सीसीटीभीको निगरानीमा समेत नरहेकाले त्यहाँ माटो फाल्दा कसैले थाहा नपाएको हुन सक्ने उनले बताए।

‘त्यहाँ एउटा छुट्टै र पानी नभएको सेफ्टी ट्यांकी रहेछ। त्यो ठाउँ दुई अग्ला पर्खालबीच पर्ने भएकाले सीसीटीभीको निगरानीमा पनि रहेनछ,’ ती अधिकारीले भने, ‘उनीहरूले त्यसको अध्ययन गरेरै बेलुकीदेखि सुरूङ खन्न थालेको र मध्यरातपछि भागेको हुनुपर्छ भन्ने मेरो अनुमान छ।’

पर्खालको भित्री भाग कच्ची हुनु, जमिनमुनि सिमेन्टको संरचना नहुनु र पानी परेर माटो नरम हुनुले पनि सुरूङ खन्न सहज भएको हुन सक्ने उनको भनाइ छ। एउटा पर्खालको भित्ता भत्काएपछि सेफ्टी ट्यांकीसम्म पुग्न र त्यहाँबाट अर्को भित्ता पार गर्न सजिलो हुने अवस्थाको उनीहरूले फाइदा उठाएको ती अधिकारीले बताए।

कारागारभित्र सुरक्षाकर्मीसहित अन्य व्यक्तिको आवतजावतमा प्रतिबन्ध हुने भएकाले छुट्टै हलमा रहेका कैदीबन्दीले सुरूङ खनिरहेको कसैले थाहा नपाएको हुन सक्ने उनको अनुमान छ। यद्यपि, घटनामा कसैको मिलेमतो छ कि भन्ने विषय पनि अनुसन्धान हुनुपर्ने उनले बताए।

अर्का एक प्रहरी अधिकारीले भने झन्डै चार मिटर लामो सुरूङ एकै रातमा खनिएको हो भन्नेमा शंका व्यक्त गरे। ‘मलाई त सुरूङ हेर्दा पुरानै जस्तो लाग्यो,’ उनले भने, ‘सायद उनीहरूले केही दिनदेखि दिनदिनै थोरैथोरै खन्दै आएका हुन सक्छन्।’

उनका अनुसार सुरूङ खन्ने काम योजनाबद्ध देखिएकाले बाहिरका व्यक्तिको संलग्नता पनि हुन सक्ने आशंका छ। सेफ्टी ट्यांकीमा माटो फाल्दा कसैले नदेख्ने र सुरूङ खनेको ठाउँ सीसीटीभीको निगरानीमा नपर्ने अवस्थाबारे कैदीबन्दीले पहिले नै जानकारी लिएको हुन सक्ने उनको भनाइ छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनय सिंहले अहिले प्रहरीको प्राथमिकता भागेका कैदीबन्दीको खोजी र नियन्त्रणमा लिनु रहेको बताए। उनीहरू पक्राउ परेपछि अन्य अनुसन्धानका विषय अघि बढाइने उनले जानकारी दिए। - सेताेपाटीबाट

सम्बन्धित समाचार ...

डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ जना कैदी र थुनुवा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्