नेभिगेशन
राष्ट्रिय
जाजरकोट भूकम्पका तीन वर्ष 

टहरा र चर्किएका घरमै भूकम्पपीडितको बास

वि.सं. २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको कात्तिक १७ गते तीन वर्ष पुगेको छ । यो बिनाशकारी भूकम्पबाट १५४ जनाको ज्यान गएको थियो भने करिब ७५ हजार परिवार विस्थापित भएका थिए । 

भूकम्पको कारण अधिकांसका गाँस, बास र कपास समेत खोसिए । विद्यालय, स्वास्थ्यका भवन, ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका सम्पदाहरु ध्वस्त भए । भूकम्प गएको तीन वर्ष पूरा हुँदासम्म पनि भूकम्पले ढलेका यहाँका बस्तीहरु उठ्न सकेका छैनन्, थलिएकै छन् । अधिकांश नागरिकहरु अस्थायी टहरा र चर्किएका घरमा बस्न बाध्य भएका छन् । 

आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले अझैसम्म यहाँका बस्तीहरु उठ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न चिसोमा न्यानो पाउन सके, न गर्मिमा छहारी, दयनिय अवस्थामा भूकम्पपीडितहरु बाँचिरहेका छन् ।’ भूकम्पले थला परेका बस्तीहरु झन् कमजोर बन्दै गईरहेको उहाँको भनाई रहेको छ ।

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले भूकम्पले घरबासविहिन बनाएपछि जसोतसो टहरा बनाएर बसेकालाई नै पहिरोले बगाएको, घरखेत बगाएको बताउनुभयो । उहाँले व्यक्तिगत आवाससँगै भूकम्पबाट स्वास्थ्य र शिक्षाका संरचना ध्वस्त भएको तर पुनर्निमाणमा ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार बस्तीहरु अझै पनि प्राकृतिक विपत्तिबाटै थलिएका छन् ।

भूकम्पले घरबारबिहिन भएकाहरु हालसम्म जस्तापाताको टहरा र कतिपय चर्किएकै घरमा बस्न बाध्य भएको बताउँनछन् । आठबिसकोट नगरपालिका १४ का रमेश मल्लले सरकारले क्षतिको विवरण संकलनमै त्रुटि गरेको गुनासो गर्नुभयो । उहाँले शहरमा पक्कि घर भएका, गाउँमै अर्को घर भएकाहरुको विवरण पुनर्निर्माणमा समावेश भएको तर घरबासविहिन भएकाहरुको विवरण छुटेको बताउनुभयो । 

प्रभावित बस्तीहरुमा अझैपनि पुनर्निर्माण कार्य सुरु हुन सकिरहेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पको विस्तृत क्षतिको आकलनको काम पुरा गर्न सकेको छैन । क्षतिको आकलन गरिएको विवरणमा पनि अधिकांस भूकम्पपीडित असन्तुष्ट रहेका छन् । 

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले ७६६ जना लाभग्राहीको आवास निर्माणको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पहिलो किस्ताको रकम माग गरिएको बताउनुभयो । भूकम्प प्रभावित निजि आवास पुनर्निर्माण कार्यविधि, २०८० (संशोधनसहित) बमोजिम सम्झौता गरी आवश्यक कागजात तथा प्रक्रिया पुरा गरेका लाभग्राहीहरुको लागि आवास निर्माणको अनुदान माग गरिएको हो ।

प्रशासन कार्यालयको तथ्याङक अनुसार भूकम्पको कारण घर क्षति भएका ३० हजार ८५० जनाको क्षति विस्तृत विवरण प्राधिकरणले तयार गरेको छ । त्यसमध्य कार्यविधि अनुसार प्रक्रिया पुगेकाहरुको आवास निर्माणको लागि किस्ता माग सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय