नेभिगेशन
समाज

पत्रकार ददेललाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम् रुकुम पश्चिमका सक्रिय पत्रकार प्रवीर ददेल पुरस्कृत हुनुभएको छ । 

सहिद गणेश शाहको ३२ औ स्मृति दिवसको अवसरमा आज चौरजहारी नगरपालिका वडा नम्बर ११ मा आयोजित स्मृति सभामा उहाँलाई सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार, २०८३ बाट सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

मुसिकोट नगरपालिका १३ निवासी पत्रकार ददेल रुकुमबाट प्रकाशित रेखदेख साप्ताहिक पत्रिकाको सम्पादक एवम् प्रकाशक हुनुहुन्छ। उहाँले पत्रकारीता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्रको स्थापना तथा कार्यान्वयन, ग्रामीण बिषयवस्तुको उजागर गरेर समाज रुपान्तरणको लागि उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको हो ।

दिवसकै अवसरमा चौरजहारी अस्पताल र सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण समेत गरिएको नेपाली काङ्ग्रेस चौरजहारी ११ का वडा सभापति खिम बहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसकै अवसरमा विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। 

स्वर्गीय शाहको ३२औँ स्मृति सभा विविध कार्यक्रममा नेपाली कांग्रेसका कर्णाली प्रदेश कमिटी सदस्य रिबहादुर ओलीको प्रमुख आतित्थ्यता रहेको थियो भने नेपाली कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला सचिव परमेश्वर भण्डारी, प्रदेश निर्वाचन क्षेत्र 'ख' का सभापति भद्रबहादुर बिष्ट, नेपाली काँग्रेस चौरजहारीका सभापति प्रेम बहादुरओली, तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, प्रदेश प्रतिनिधि मोहन आचार्य, महिला संघका जिल्ला अध्यक्ष निर्मला गिरी आचार्य, युवा नेता राजु केसी लगायतको उपस्थिति रहेको थियो।

२०५१ साल भदौ १७ गतेका दिन तत्कालीन सिम्ली गाविसको सुलिहालेमा शाहको हत्या भएको थियो । खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहेको बेला तत्कालिन बिद्रोही पक्ष (नेकपा माओवादी) ले उहाँको हत्या गरेका थिए । 

792159159_1548553820402054_7011879871392177574_n-1788358270.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्