नेभिगेशन
समाज
गणेश शाह स्मृति दिवस 

सहिद गणेश शाहका परिवार ३२ वर्षसम्म न्यायकै पर्खाईमा 

तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्नुअघि रुकुममा हत्या गरिएका सहिद गणेश शाहको परिवारले न्यायको आशामै ३२ वर्ष बितेको बताएका छन् ।

साबिक रुकुममा जनयुद्धको प्रथम सहिद हुनुभएका चौरजहारी नगरपालिका –११ खोलागाँउका शाहको हत्या भएको भदौ १७ गते ३२ वर्ष पुगेको छ । हालसम्म राज्यबाट राहत समेत नपाएको मृतकका परिवारले गुनासो रहेको छ ।  

शाहको ३२औं स्मृति दिवसको अवसरमा खोलागाउँमा भएको कार्यक्रममा स्वर्गीय शाहको श्रीमती तोलाकुमारी शाहले ३२ वर्षसम्म अन्याय भोगिरहेको बताउनुभयो । श्रीमान् मारिएपछि परिवारको बिचल्ली परेको बताउनुहुँदै उहाँले श्रीमान् मारेकाहरु जनयुद्धको नाममा फरार भएको, हालसम्म कारबाहि नभएको र राज्यबाट हालसम्म राहत समेत नपाएको गुनासो गर्नुभयो ।

तत्कालिन खोलागाउँ गाविस अध्यक्ष तथा जिल्ला विकास समितिका सदस्य शाह कामको सिलसिलामा जिल्ला सदरमुकाम जाँदै गर्दा २०५१ साल भदौ १७ गते सानीभेरी गाउँपालिका ९ सिम्लीको सुलिहालेमा तत्कालिन माओवादीबाट हत्या भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस रुकुमपश्चिमका उपसभापति हर्कसिंह खत्रीले माओवादीले जनयुद्ध सुरु अघि चलाएको अभियानको क्रममा गणेश शाहको घाँटी रेटेर हत्या गरेको तर हालसम्म पनि न्याय नपाएको बताउनुभयो । फरक राजनीतिक आस्थाकै कारण शाहको हत्या भएको र राजनीतिक विभेदकै कारण शाहको परिवारले राहत समेत नपाएको उहाँको भनाइ छ ।

सरकार र बिद्रोही माओवादी बिच बिस्तृत शान्ती सम्झौता हुँदा २०५२ साल फाुगन १ गते यताका घटनालाई मात्रै द्वन्द्वकालिन घटना मान्ने भनेर उल्लेख गरिएपछि मृतक शाहको परिवारले राहत पाउनबाट बञ्चित भएको उहाँले बताउनुभयो । उपसभापति खत्रीले राज्यले राजपत्रमै सहिदको सूचिमा गणेश शाहको नाम समावेश गरेको तर सहिदका परिवारलाई दिईनुपर्ने राहत रकम नदिएको उल्लेख गर्नुभयो । ३२ वर्षसम्म सहिद परिवार अन्यायमा बाँचिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका चौरजहारी नगरसभापति प्रेमबहादुर ओलीले मान्छे मारेर विचार नमर्ने बताउनुभयो । गणेश शाहको विचार र बाटो असल र अमर रहेको उल्लेख गर्नुहुँदै उहाँले हत्याको राजनीती अपराधिक मानसिकताको उपज भएको बताउनुभयो । ओलीले हत्या र हिंसाको बाटोले कसैको पनि भलो नहुने र विचार मार्न नसकिने बताउनुभयो ।

वैचारिक आस्थाकै आधारमा हत्या गरिएका गणेश शाहको परिवार ३२ वर्षसम्म न्यायको खोजीमा भौतारिनुपर्ने अवस्था आउनु भनेको कानूनी राज्य माथिको उपहास भएको उहाँको भनाई छ । 

नेपाली काँग्रेस चौरजहारी नगरपालिका वडा नम्वर ११ का सभापति खिमबहादुर ओलीले हरेक वर्ष शाहको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्