नेभिगेशन
अर्थ/वाणिज्य

रुकुमका निर्माण व्यवसायीले भने : 'मूल्यबृद्धि नरोकिए विकास निर्माण ठप्प हुन्छ' 

रुकुम पश्चिमका निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यबृद्धि नरोकिए विकास निर्माणका कामहरु ठप्प हुने चेतावनी दिएका छन् ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीमार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका उनीहरुले मूल्यबृद्धि रोक्न माग गरेका छन् ।उनीहरुले इन्धनजन्य सामाग्रीहरु डिजेल, पेट्रोल, मट्टितेलमा भइरहेको अप्रत्याशित र अत्याधिक मूल्यवृद्धिले निर्माण लागतलाई नियन्त्रण बाहिर लिएकोले विकास निर्माणका कार्यहरु ठप्प हुने स्थिति आएको जनाएका छन् ।

निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष परविर डाँगीले देशको भौतिक पूर्वाधार विकासको मेरुदण्डको रुपमा रहेको निर्माण उद्योग अत्यन्तै विषम र जर्जर परिस्थितिबाट गुज्रिरहेको तथ्य जानकारी गराउँदै मूल्यबृद्धि रोक्न माग गरिएको बताउनुभयो । 

राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीयस्तरका विकास निर्माणका कामहरुलाई गति दिन र हजारौं श्रमिक एवं व्यवसायीहरूको हित संरक्षणका निम्ति सरकारले तत्काल निर्माण उद्योगमा आपतकाल घोषणा गरी विशेष राहत प्याकेज ल्याउन समेत अनिवार्य देखिएको उहाँको भनाइ छ । ज्ञापनपत्रमा मूल्य समायोजन मार्गदर्शन –२, तत्काल जारी गर्न जोडदार माग गरिएको छ । 

यसका साथै स्थानीय नदीजन्य निर्माण समाग्री तथा क्रसर उद्योगहरुमा प्रदेश कार्यालयबाट नियमनका नाममा जटिलता थप्ने काम भएकोले निर्माण सामाग्री उत्खनन् र संकलनमा अवरोध गरिएको जनाईएको छ । निर्माण व्यवसायीहरुले व्यवसायीमैत्री वातावरण निर्माण तथा जायज मागहरुको यथाशीघ्र सम्बोधनका लागि जोडदार माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्