नेभिगेशन
राष्ट्रिय

रुकुमका मतदान केन्द्रहरुमा सर्वपक्षिय बैठक सम्पन्न, धमाधम बन्दै मतदान केन्द्र

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमका विभिन्न मतदान केन्द्रहरुमा सर्वदलिय तथा सर्वपक्षिय बैठक सम्पन्न भएका छन् भने मतदान केन्द्रहरु निर्माणको काम तीब्र रुपमा भईरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीहरूले बैठक तथा कार्यस्थल व्यवस्थापन र बुथ निर्माण गरिरहेका छन् ।मतदान केन्द्रको सुरक्षाका लागि खटिएका प्रहरीको सहयोगमा केन्द्र तयार पारिएका हुन् । सबै मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रवेशद्वार बनाइएको छ । 

आठबिसकोट नगरपालिका -३ को खदिस्थित हिमालय माविका मतदान अधिकृत शेरप्रसाद ढकालका अनुसार आज स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उम्मेदवारका प्रतिनिधिहरु, अगुवा, सुरक्षाकर्मी लगायतको सहभागितामा सर्वदलिय तथा सर्वपक्षिय बैठक सम्पन्न गरिएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र शान्तीपूर्ण वातावरणमा सम्पन्न गर्न बैठकमा सहभागी सबैले सहयोग गर्ने सहमती निर्माण गरिएको छ । 

त्रिवेणी गाउँपालिका -९ चौतारास्थित जनहित आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रका मतदान अधिकृत डेबिट रावलका अनुसार बैठक सम्पन्न गरेर मतदान केन्द्र निर्माणको काम भईरहेको छ । आवश्यक सामाग्रीहरु जुटाईसकिएको छ भने भोली मतदान केन्द्र पुर्ण रुपमा निर्माण हुने छ । 

चौरजहारी नगरपालिका -२ स्थित शीतल माध्यमिक विद्यालयका मतदान अधिकृत जय प्रकाश पाण्डेका अनुसार आजै सर्वदलिय तथा सर्वपक्षिय बैठक सम्पन्न गरिएको छ । उहाँले मतदान केन्द्रमा महिला, पुरुष र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिने र भोलिसम्म मतदानस्थल निर्माणको कार्य सम्पन्न गरी निर्वाचनका लागि तयारी अवस्थामा रहने जनाउनुभयो । 

483f3f63-6f20-4832-8b6e-a69cf283a74a-1772549455.jpg
मुसिकोट नगरपालिका -१ स्थित त्रिभुवन जनता माविमा निर्वाचनको आवश्यक तयारीमा जुटेका कर्मचारीहरु । 

रुकुम पश्चिमका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा ७६ मतदान स्थल रहेका छन् भने १४० स्थायी र दुई अस्थायी गरी १४२ वटा मतदान केन्द्रहरू रहेका छन् । यहाँ कुल मतदाता संख्या एक लाख छ हजार ६६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार दुई सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार तीन सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् । यहाँ रुकुम पश्चिममा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

647048009_1609755600177529_2944026985170520805_n-1772549700.jpg
आठबिसकोट नगरपालिका -९ को कालिका मावि सुन्दरपानीमा निर्वाचन लक्षित सर्वदलीय/सर्वपक्षीय बैठक
972f68f1-7b94-43d8-a7bc-0b3f01ef75e0-1772549871.jpg
त्रिवेणी गाउँपालिका ९ चौतारास्थित जनहित आविमा मतदान केन्द्र निर्माणको काम हुँदै


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्