नेभिगेशन
राष्ट्रिय

१८ गते मध्यरातिदेखि निर्वाचन प्रचारप्रसारमा निषेध

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने आयोगको निर्णयमा भनिएको छ । साथै कहीँ कतै यस्तो गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउनुपर्ने निर्णय गरेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय पनि आयोगले गरेको छ ।

आयोगले अत्यावश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेकालाई राखेको छ । 

आयोगले मतदानको मितिभन्दा सात दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा मादक पदार्थ सेवन गरेर हल्ला गर्ने, राजनीतिक दल तथा उम्मेदवारले मादक पदार्थ सेवन गर्न लगाएर मतदातालाई प्रभावित पार्नेलगायतका सम्भावित गतिविधिलाई रोक्न आयोगले यस्तो निर्णय गरेको हो । आफ्नो निर्णय अनुसार आवश्यक सहजीकरण र समन्वयका लागि आयोगले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ । 

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट यी निर्णय गरिएको हो । 

मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् रूपमै सञ्चालनको व्यवस्था मिलाइने छ ।

अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटेलसम्म र घर/बसोबास गर्ने होटेलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउने अर्को निर्णय आयोगले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय