नेभिगेशन
राजनीति
प्रतिनिधिसभा सदस्य निर्वाचन

रुकुमका गाउँ-गाउँमा उत्सवमय बन्दै चुनाव

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि गाउँ पसेका उम्मेदवार र राजनीतिक दलको कारण रुकुम पश्चिमका गाउँमा चुनावी वातावरण उत्सवमय बनेको छ ।

चुनावी प्रचारका लागि घरदैलो तथा अन्तरक्रिया कार्यक्रम लिएर बस्तीस्तरमा पुगेका नेताहरुको तिब्र चहलपहल तथा सांस्कृतिक प्रस्तुतीहरुलाई दिएको महत्वले चुनाव उत्सवमय बनेको पाईन्छ ।  

मनोनयन दर्तापछि पालिका केन्द्र, वडा तथा बस्तीहरुमा पुगेका दलका गतिविधिहरुमा प्रस्तुत गरिने बाजागाजा, झाँकि तथा मौलिक नाचगानले चुनावको माहोल तातिएको छ । नेता तथा उम्मेदवारहरुलाई लगाईने माला, दोसल्ला अबिर र नेताहरु स्थानीयसँगै मौलिक बाजा बजाउने, नाच्ने गर्दा चुनावी माहोल थप उल्लासमय बन्ने गरेको छ । 

नेपाली कांग्रेसका उम्मेदवार राजु केसीको चुनावी अभियानमा रहनुभएका पूर्व राज्यमन्त्री एवम् कांग्रेसका नेता गोपालजि जंग शाहले कार्यकर्तासँगै सिंगारु, मयुर लगायतका नाचमा सहभागी हुँदा माहोल नै उल्लासमय बन्ने गरेको पार्टीका जिल्ला प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांस टोलमा हुने भेटघाट तथा छलफल कार्यक्रममा साँस्कृतिक गतिविधिहरु प्रस्तुत हुने र उम्मेदवारसँगै नेताहरुले पनि प्रस्तुती देखाउने गर्दा गाउँको चुनावी वातावरण उल्लासमय बनेको छ । 

पूर्वमन्त्री एवम् प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले पनि मतदाताको बिचमा पुगेर मत माग्ने, स्थानीय झाँकी तथा सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउने गर्नुहुन्छ । मयुर लगाएरै नाच्ने, दमाह बजाउने, सिंगारुमा समेतमा आकर्षक नृत्य प्रस्तुत गर्ने उहाँको सीप हरेक दिनका चुनावी कार्यक्रममा देख्न सकिन्छ । जसको कारण चुनावी वातावरण थप उत्सवमय बनेको हुन्छ । 

नेपाली कम्युनिष्ट पार्टीले पनि हरेक बस्तीहरुमा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यी गतिविधीहरुमा स्थानीय कार्यकर्ताले पञ्चेबाजा, झाँकी, मौलिक नाचगानबाट गर्ने स्वागतले चुनावी चहलपहल तिब्र बनेको छ । उम्मेदवार गोपाल शर्मा लगायतका नेता कार्यकर्ताहरु सामुहिक नृत्य तथा सांस्कृतिक गतिबिधीहरुमा सक्रिय हुँदा चुनावी माहोल थप रमणिय बन्ने गरेको पाईन्छ । 

यी प्रमुख पार्टीका अलावा अन्य दलहरुले समेत घरदैलोमार्फत चुनावी प्रचारप्रसार गरिरहेका छन् । गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओलीले गाउँ-गाउँमा पसेका दलहरुले चुनावको माहोल तातिएको बताउनुभयो ।

उहाँले गाउँमा गठन भएका आमा समुह, स्थानीय बाजागाजा तथा पञ्चेबाजा समुह, मयुर नाच समुहले प्रायजसो राजनीतिक दलका कार्यक्रमहरुमा जाने अवसर पाएको बताउनुभयो । यस अवसरमा दलका उम्मेदवार तथा नेता कार्यकर्ताहरु नाचगान, झाँकि लगायतका गतिविधिहरुमा सहभागी हुने क्रम जारी रहेको उहाँको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्