नेभिगेशन
समसामयीक
देउवर काजीबारे जानकारी

देउवर काजी : रुकुमकोटका गौरवमय ऐतिहासिक र धार्मिक व्यक्तित्व

देवभूमि रुकुमकोट केवल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले मात्र समृद्ध छैन, यस भूमिले वीर, विद्वान् र धर्मनिष्ठ व्यक्तित्वहरू पनि जन्माएको छ । तीमध्ये देउवर काजी जसको वास्तविक नाम देवीदत्त उपाध्याय थियो, रुकुमकोटको धार्मिक, ऐतिहासिक र सांस्कृतिक चिनारीका रूपमा आजसम्म श्रद्धापूर्वक सम्झिइन्छ ।

देउवर काजीका पुर्खाहरू भारतको उज्जयनीबाट पियाँल भित्ती हुँदै जुम्लाको प्रसिद्ध सिँजा उपत्यका आएर बसेका थिए । त्यहाँ केही पुस्तासम्म बसोबास गरेपछि वि.सं. १४२८ तिर उनीहरूको वंश रुकुमकोट आइ स्थायीकृत भयो । यही वंशका सन्तान देवीदत्त उपाध्याय, जो पछि देउवर काजीका नामले परिचित भए, उनी असाधारण विद्वान्, ब्रह्मचारी, सात्विक र निस्वार्थी ब्राह्मण थिए ।

देउवर काजी अध्ययनका लागि भारतको काशी (वनारस) पुगे र त्यहाँबाट शास्त्री उपाधि प्राप्त गरे । उनको विद्वत्ता, बुद्धिमत्ता र निष्ठा सुनेपछि तत्कालीन रुकुमकोटका राजा नरवीर बमले उनलाई मन्त्री पदमा नियुक्त गरे । नरवीर बमका साइँला भाइ जसवीर बम मुसिकोटका राजा थिए ।

दुई भाइबिच सिमाना विवाद उठ्दा जेठा नरवीर बमले देउवर काजीको सल्लाह अनुसार पानाखोला नै सिमाना हो भन्नु भनेका थिए, तर जसवीर बमले नाथिगार खोला दाबी गरे । विवाद गहिरिँदै जाँदा दुबै राजाले सहमति खोजे पनि देउवर काजीले न्यायको पक्ष छोडेनन् । यसै कारण मुसिकोटे राजा असन्तुष्ट बने र छलकपटपूर्वक देउवर काजीको हत्या गर्ने षड्यन्त्र रचे ।

उनलाई दरबारमा बैठकका नाममा बोलाइयो । अङ्गरक्षकहरूसहित जाँदै गर्दा मैदानदेखि तल ठस्के ढुङ्गामा मुसिकोटका फौजले विषालु वाण हानेर उनलाई घोडाबाट खसाए । आज पनि त्यो स्थान “लड्ने बाटो”का नामले चिनिन्छ । घाइते अवस्थामै देउवर काजीले आक्रमण मुसिकोटतर्फबाट भएको बुझे र आफ्ना अनुयायी सुजे र भुजेलाई “मलाइ तुरुन्त पानाखोला पुर्‍याउ” भनी आदेश दिए ।

उनीहरुले नाथिगारको पाटाखोला पुग्दा पानाखोला पुगियो भनेर ढाँटे त्यहीँ ठाउँमा उनले शरीरबाट वाण निकालेर भने - “षड्यन्त्र गरी ब्राह्मण हत्या गर्ने मुसिकोटे राजाको सन्तान नफैलियोस् ।”

त्यसै श्राप दिएर उनले प्राण त्याग गरे। पछि त्यही ठाउँमा उनको अन्त्येष्टि गरियो ।

देउवर काजीको अन्यायपूर्ण हत्यापछि मुसिकोटका राजाहरूमा दुःख र अनिष्टहरू पर्दै गए । लामाहरू बोलाएर हेराउँदा अनिष्टको कारण यही ब्राह्मणको श्राप भएको पत्ता लाग्यो । लामाको सल्लाहअनुसार जुम्ल्याहा बाख्रा पुजासहित भण्डारीकाँडाबाट छोड्दा ती बाख्रा नाथिगारमा पुगेर रोकिए । त्यसपछि उक्त स्थानलाई “पाठाखोला” भनिन थालियो ।

देउवर काजीको वीरगति वि.सं. १५९७ साल मार्ग कृष्ण पञ्चमीका दिन भएको विश्वास गरिन्छ, त्यस दिन आज पनि धुमधामका साथ पूजाआजा र मेला लाग्ने परम्परा निरन्तर छ ।

काजीको मृत्युपछि रुकुम क्षेत्रमा विभिन्न अनिष्ट र विपद् आइरहे । त्यसपछि वि.सं. १६१७ सालमा उनका वंशज र भक्तजनहरूले नाथिगारमा मन्दिर स्थापना गरी पूजाआजा सुरु गरे । यसपछि गाउँसहरमा शान्ति र समृद्धि फर्किएको जनविश्वास छ ।

आज नाथिगारस्थित देउवर काजीको समाधिस्थल पैगोडा शैलीमा बनेको आकर्षक मन्दिरका रूपमा अवस्थित छ । अत्री गोत्रीय गौतमहरू, तिनका चेलिबेटी र इष्टमित्रहरूले उनको जन्मस्थल रुकुम पूर्व सिस्ने–६, आला बाहुन्डेरामा पनि भव्य मन्दिर निर्माण गरेका छन् । त्यहाँ पनि भक्तजनहरूले पूजाआजा गर्छन् । उनीहरू बोका चढाएर मनोकामना माग्ने, संकट निवारण र आत्मशान्तिका लागि श्रद्धा प्रकट गर्ने गर्छन् ।

धार्मिक र पर्यटकीय महत्व:

देउवर काजीलाई आज पनि दैवी अवतारका रूपमा पूजिन्छ। नाथिगार र उनका जन्मस्थल दुबै रुकुम पूर्वका प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य हुन् । प्रत्येक वर्ष मार्ग कृष्ण पञ्चमीका दिन यहाँ हजारौँ भक्तजनको उपस्थितिमा मेला लाग्छ, ढोल-नगारा बजाइन्छ र देउवर काजीको अद्भुत पराक्रम र धर्मनिष्ठताको स्मरण गरिन्छ ।

निष्कर्ष:

देउवर काजी केवल एक ऐतिहासिक पात्र होइनन्, उनी सत्य, धर्म र निष्ठाको प्रतीक हुन् । अन्याय विरुद्ध आवाज उठाउने, धर्म र न्यायको पक्षमा अडिन सक्ने उनका गुणहरूले आज पनि रुकुमकोट बासिलाई प्रेरणा दिन्छन् । नाथिगारको मन्दिर र पाठाखोला केवल तीर्थ होइन, यो हाम्रो इतिहास, संस्कृतिको गौरव र विश्वासका जीवित प्रतीक पनि हुन् ।

“सत्य र धर्मका लागि प्राण अर्पण गर्ने महान् ब्राह्मण देउवर काजीलाई भावपूर्ण श्रद्धाञ्जलि ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्