नेभिगेशन
राजनीति
प्रतिनिधि सभा निर्वाचन

रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी दर्ता

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न १२ वटा राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृत दिलिप थापा मगरले नेपाली कांगे्रसका तर्फबाट राजु केसीको उम्मेदवारी दर्ता भएको बताउनुभयो । कांग्रेसको पुर्वमहाधिवेशन प्रतिनिधि रहनुभएका केसी युवा नेताको रुपमा चर्चित हुनुहुन्छ । 

नेकपा (एमाले) का तर्फबाट नन्दराम देवकोटाको उम्मेदवारी दर्ता भएको छ । पार्टीको जिल्ला अध्यक्ष समेत रहनुभएका देवकोटा २०७९ सालको प्रतिनिधि सभा सदस्यमा समेत उम्मेदवारी दिएर पराजित हुनुभएको थियो । 

नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्माको उम्मेदवारी दर्ता भएको छ । पार्टीको केन्द्रिय सदस्य रहनुभएका शर्मा कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री समेत हुनुहुन्छ । 

प्रगतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट जनार्दन शर्माको उम्मेदवारी दर्ता भएको छ । साबिक माओवादी केन्द्रले गरेको एकता प्रक्रियामा नगएर नयाँ पार्टी गठन गर्नुभएका शर्मा पुर्वमन्त्री समेत हुनुहुन्छ । शर्माले ०६४ पछिका निर्वाचन तत्कालिन नेकपा (माओवादी केन्द्र) का तर्फबाट लगातार जित्दै आउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मानबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी नेकपा (माओवादी) को तर्फबाट चन्द्र बहादुर बुढा, उज्यालो नेपाल पार्टीको तर्फबाट नरेन्द्र केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका सत्य नारायण श्रेष्ठ, नेकपा (संयुक्त) का शेरबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक र आम जनता पार्टीका प्रेमा परियार नेपालीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र तर्फबाट प्रविण नेपालले उम्मेदवारी दर्ता गराउन निवेदन दिएतापनि कार्यालय अस्वीकृत गरेको जनाएको । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति