नेभिगेशन
राजनीति

निर्वाचन आचारसंहिता पालना गर्न रुकुम पश्चिमका दलहरु प्रतिबद्ध

रुकुम पश्चिमका क्रियाशिल राजनीतिक दलहरुले चुनावी आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

आईतबार जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका बिषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दलहरुले स्वच्छ, निश्पक्ष र मर्यादित निर्वाचनका लागि आचारसंहिताको पालना गर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले निर्वाचनलाई नैतिकवान र मर्यादित बनाउन आवश्यक रहेकोले आचारसंहितालाई पुरापुर पालना गर्न कांग्रेस तयार रहेको जनाउनुभयो । उहाँले विगतको जस्ता लाठी, बम, बारुद पड्काउने, मतदाता तर्साउने अवस्था नरहेकोले निर्वाचनमा परिचालन हुने कर्मचारीहरु समेत निर्वाचनका कानून बिरुद्धका गतिविधि रोक्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष नन्दराम देवकोटाले आचारसंहिता कार्यान्वयको पक्षलाई व्यबहारमै लागु गर्नुपर्ने बताउनुभयो । निर्वाचनको खेलका लागि होमिसकिएपछि अनुशासनको पालना, कानूनको कार्यान्वयन, प्रतिबद्धताको असल कार्यान्वयन सबैले गर्नुपर्ने उहाँको भनाइ छ । 

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बसन्त कुमार शर्माले निर्वाचनलाई शान्तीपूर्ण, भयरहित, धाधँलिरहित र स्वच्छ बनाउन आफ्नो दल प्रतिबद्ध रहेको बताउनुभयो । आचारसंहित उल्लंघन भएको अवस्थामा दण्डात्मक व्यस्वस्था पनि कार्यान्वयन गर्नुपर्ने बताउनुहुँदै उहाँले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सबै दलले सकारात्मक भूकिमा निर्वाह गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति मान बहादुर शाहीले विधिको शासन अबलम्बन गर्ने र राज्यलाई सपोर्ट गर्ने कुरामा रास्वपा सधै तयार रहेको बताउनुभयो । निर्वाचन सम्बन्धी कानूनी प्रावधानको पालनामा प्रतिबद्धता जनाउनुहुँदै उहाँले फर्जिमत रोक्नतर्फ बिशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाक गिरीप्रसाद बुढा, प्रगतिशिल लोकतान्त्रिक पार्टीका दलबहादुर खड्का, नेकपा (माओवादी) का कपिल सिंह, नेकपा (संयुक्त) का शेरबहादुर केसी लगायतले मर्यादित निर्वाचनमा जोड दिदै आचारसंहिता पालनामा प्रतिबद्धता जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति