नेभिगेशन
राजनीति
हरिभक्त स्मृति दिवस

रुकुम र काठमाडौंमा सहिद हरिभक्तको चर्चा

सहिद हरिभक्त ओलीको २७औं स्मृति दिवसका अवसरमा रुकुम पश्चिमको चौरजहारी र काठमाडौंमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । 

चौरजहारीमा नेपाली कांग्रेस चौरजहारी नगर समिति र काठमाडौंमा नेपाली कांग्रेस रुकुम काठमाडौं सम्पर्क समितिले श्रद्धाञ्जली सभाको आयोजना गरेका हुन् । 

नेपाली कांग्रेस रुकुमका सभापति ओलीको तत्कालिन माओवादीद्वारा २०५५ माघ १ गते चौरजहारी नगरपालिका २ स्थित बजारमै हत्या गरिएको थियो । जिल्ला विकास समितिका पूर्व सभापति समेत रहनुभएका कांग्रेस नेता ओली विकासप्रेमी, सहयोगी एवम् लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो । 

स्मृति दिवसको अवसरमा दुबै स्थानमा भएका कार्यक्रमहरुमा स्व.हरिभक्त ओलीको राजनीतिक र सामाजिक जीवनको चर्चा गरिएको छ भने फोटोमा माल्यार्पण गरिएको छ । 

चौरजहारीमा भएको कार्यक्रममा नेपाली कांस्रेस रुकुम पश्चिमका जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख यदुकुमार आचार्य, नगर सभापति प्रेमबहादुर ओली र नेपाल किसान महासंघ रुकुम पश्चिमका अध्यक्ष गणेश प्रसाद शर्माले सहिद हरिभक्त ओलीको विचार जीवितै रहेको र उहाँले देखाएको बाटोमा लाग्ने प्रेरणा हजारौलाई दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँहरुले मान्छे मारेर विचारको हत्या हनु नसक्ने भएको उल्लेख गर्दै हरिभक्तको निस्वार्थ सामाजिक र राजनीतिक सेवा भावको चर्चा गर्नुभयो । 

त्यसैगरी काठमाडौंको दियालो फूडल्याण्डमा भएको श्रद्धाञ्जली सभामा पार्टीका जिल्ला सभापति एवम् सहिद पुत्र प्रेम प्रकाश ओली लगायत केन्द्र तथा जिल्लास्तरका नेता कार्यकर्ताहरुले उहाँको योगदानको चर्चा गर्नुभएको छ ।

कांग्रेसका युवा नेता लालबहादुर ओलीका अनुसार हरिभक्त ओलीको राजनीतिक विचार र सामाजिक योगदानको चर्चा गर्दै उहाँले अंगालेको विचारको बाटोमा लाग्न एकता नै अपरिहार्य भएको बताईएको छ । 

यसैगरी दिवसकै अवसरमा नेपाली कांग्रेस चौरजहारीका उपसभापति गणेशमान डाँगीको नेतृत्वमा सहिद स्मृति अस्पतालमा फलफूल समेत वितरण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति