नेभिगेशन
अर्थ/वाणिज्य

आठबिसकोटमा राष्ट्रिय वाणिज्य बैंकको सेवा सुरु 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडीमा राष्ट्रिय वाणिज्य बैंकले सेवा सञ्चालन गरेको छ । सोमबारबाट बैंकको ३१२औ शाखा कार्यालय स्थापना गरेर सेवा सुरु गरेको बैंकले जनाएको छ । 

दुर्गम मानिएको स्थानमै राष्ट्रिय वाणिज्य बैंकको कारोबार सेवा सुरु भएपछि यहाँका स्थानीय खुशी भएका छन् । आठबिसकोट नगरप्रमुख रबि केसीले अबदेखि यहाँका नागरिकले सहज रुपमा बैङ्किग सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । सरकारी बैंकमा हुने कारोबारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेर गएको उहाँको भनाइ छ । 

भौगोलिक र जनसंख्याको हिसाबले जिल्लाको ठुलो नगरपालिकामा दुई वर्षको लगातारको माग तथा पहलकदमीपछि राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालयमार्फत सेवा सुचारु गरेको उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख केसीले पालिकाको दुर्गममा रहेका वडाहरु १, २, ३, ४, ५ र ६ को लागि अलग अलग दुई वटा काउन्टरको समेत माग गरेको बताउनुभयो । ती वडाहरुबाट पालिकाको केन्द्रमा सेवा लिन आउनलाई दुई दिन लाग्ने गर्दछ ।

यस शाखाबाट सबै प्रकारका सेवाहरु प्रदान हुने बैंकका मुसीकोट शाखा प्रमुख हेमन्तराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार खाता खोल्ने, रकम निकाल्ने, जम्मा गर्ने देखि चेक क्लियरिङ, पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजश्व, इबैंकिङ्ग, सरकारी कारोबार, रेमिटेन्स, ऋण लगानी लगायतका सेवाहरु शाखाबाट प्रवाह हुनेछन् । 

२०२२ साल माघ १० गते स्थापना भएको यो बैंक सरकारको पूर्ण स्वामित्वमा रहेको एक मात्र बैंक हो । देशका ७७ वटै जिल्लामा सेवा दिईरहेको यस बैंकले रुकुमपश्चिमको चौरजहारी र मुसीकोटमा शाखा कार्यालय र सोलाबाङमा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिईरहेको छ । 

यसअघि राडी बजारमा प्रभु, एनएमबी लगायतका अन्य बैंकले सेवा सञ्चालन गरेका छन् । तर बैंकमा हुने भिडभाडका कारण दिनभर लाइनमा बस्नुपर्ने बाध्यतामा स्थानीय रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य