नेभिगेशन
राजनीति

रुकुम पश्चिम कांग्रेसमा तीन दिनसम्म पनि टुंगिएन उम्मेदवार छनौटको बिषय

गत मंसिर २४ गते बुधबारदेखी सुरु भएको नेपाली कांग्रेस रुकुम पश्चिमको बैठक तीन दिन पुरा हुँदा पनि निर्णायक हुन सकिरहेको छैन । प्रतिनिधी सभा र राष्ट्रियसभा सदस्यको उम्मेदवारको टुंंगो लगाउन बोलाइएको बैठकले तीन दिनसम्म निर्णय गर्न सकेको छैन । 

कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले सहमतिमार्फत उम्मेदवार सिफारिसको लागि विभिन्न चरणका छलफलहरु भईरहेको बताउनुभयो । शुक्रबार अबेलासम्म पनि यस बिषयमा टुंगोमा पुग्न नसकेको उहाँले जानकारी दिनुभयो । 

बैठकको सुरुको दिन बैठकमा आधा दर्जन बढी नेताले आफु प्रतिनिधीसभा सदस्यको उम्मेदवार आकांक्षी भएको संकेत गरेका थिए । दोश्रो दिन सहमतिको लागि बोलाईएको बैठकमा समेत सहमति हुन नसकेपछि आकांक्षी र पदाधिकारीहरु बिच छलफल भएको थियो । 

तेस्रो दिनसम्म पनि पदाधिकारीहरुले विभिन्न चरणमा छलफल गरेतापनि टुंगोमा पुग्न सकेको छैन । बिशेष गरेर जेनजी आन्दोलनको मर्म अनुसार पार्टी चल्नु पर्ने र सोहि अनुसार उम्मेदवार सिफारिस हुनुपर्ने कार्यकर्ताको मागपछि पुराना पुस्ताका नेताहरु उक्त माग सहमतिमार्फत सम्बोधनका लागि छलफलमै रहेको बताईएको छ । 

मूलपाटीलाई प्राप्त जानकारी अनुसार जिल्ला सभापति प्रेम प्रकाश ओली, पूर्व राज्यमन्त्री गोपाल जि जंग शाह, मनिषा भण्डारी, मानबहादुर नेपाली र बिरबहादुर ओलीको नाम करिब टुंगोमा पुगेको छ ।

पार्टी सभापति ओली, पूर्व राज्यमन्त्री शाह र महिला नेतृ भण्डारीलाई प्रतिनिधी सभा सदस्य, पार्टीका केन्द्रिय सदस्य नेपालीलाई समानुपातिक र नेता वीरबहादुर ओलीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार सिफारिसमा करिब सहमति भएको छ । 

तर युवा पुस्ताका नेताहरु राजु केसी, शिव आचार्य, नन्दु बिष्ट लगायतको आकांक्षा वेवास्ता भएपछि पछिल्लो पुस्ताले विरोध गर्ने भएकोले सहमतिको प्रयास भईरहेको बताईएको छ । यसका साथै सीता ओली, यज्ञ बिष्ट,  सुरतजंग मल्ल लगायतका नेताहरुले बैठकमा उम्मेदवारको आकांक्षा राख्नुभएको जनाईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति