नेभिगेशन
राजनीति

जनार्दन जनताकै साथमा छ, कसैलाई धोका दिएको छैन : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले आफु जनताकै साथमा रहेको र रहिरहने बताउनुभएको छ ।

सोमबार गृहजिल्ला रुकुम पश्चिमको मुसिकोटमा भएको पार्टीको युवा भेला तथा प्रशिक्षण कार्यक्रममा साबिक नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री समेत रहनुभएका शर्माले आफूले आजसम्म कसैलाई धोका नदिएको बरु हरेक परिस्थितिमा जनताकै साथमा रहेको समेत बताउनुभयो । 

कार्यक्रममा उहाँले माओवादी पार्टीमा सुधार र रुपान्तरणको काम सफल नभएपछि नयाँ पार्टी बनाउनु परेको बताउनुभएको छ । पार्टी भित्र नेतृत्व हस्तान्तरण र भ्रष्टाचार छानबिन गरौँ भन्दा सुनुवाई गर्नुको साटो बाटो नै अलग भएर जान बाध्य पारिएको उहाँको भनाइ छ । भेलालाई सम्बोधनका क्रममा उहाँले माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्म आलोचना समेत गर्नुभएको छ । 

उहाँले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू प्रचण्डको पछि नलागेर नयाँ पार्टी खोलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रलोपाको सट्टामा माओवादी केन्द्र र पुरानै चुनाव चिह्न लिन खोजिएको हो तर निर्वाचन आयोगले दिएन र आँखा चुनाव चिह्न लिएर जनतामाझ आए ।’ प्रलोपा वामपन्थी विचारधारा बोकेको कम्युनिस्ट पार्टी रहेको उहाँको भनाइ छ । 

उहाँले विगतमा आफूले नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एमाले र माओवादी एकता गर्न समेत भूमिका खेलेको तर केपी ओली र प्रचण्डको पद र कुर्सीको लोभले उक्त एकता नटिकेको उल्लेख गर्नुभयो । आफूले पार्टीभित्र र संसदमा पार्टीका नेताको सम्पत्ति छानबिन, नेतृत्व हस्तान्तरण, जनताका एजेण्डा माथि बहस गरौ भनेर शीर्ष नेताहरुसँग बहस गर्दै आएको समेत बताउनुभयो । 

पार्टीहरु जनताप्रति उत्तरदायी नभएकाले नै जेनजी विद्रोह भएको उहाँको भनाइ छ । राजनीतिक पार्टीको असक्षमताले देशमा आगो लागेको शर्माको जनाउनुभयो । उहाँले जेनजी आन्दोलनका मुद्दा सम्बोधन गर्नुपर्ने भन्दै तोकिएको समयमा निर्वाचन हुनुपर्नेमा आफ्नो पार्टी दृढ रहेको बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति