नेभिगेशन
राजनीति

जनार्दनको पालिकाको दुई तिहाई माओवादी कमिटी प्रचण्डको लाईनमा 

साबिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उप महासचिव जनार्दन शर्मा प्रभाकर फरक फरक राजनीतिक कित्तामा उभिएपछि रुकुम पश्चिममा त्यसको प्रत्यक्ष असर परेको छ । 

प्रचण्डको अगुवाईमा वृहत बाम ध्रुविकरण सुरु गरेर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको छ भने प्रभाकरको अगुवाईका प्रगतिशिल राष्ट्रिय अभियान सुरु भएको छ । माओवादीको किल्ला दाबी गरिएको रुकुम पश्चिममा यी दुवै लाईनमा नेता कार्यकताहरु विभाजन भएका छन् । 

यसै क्रममा नेपाली कम्युनिष्ट पार्टीको लाईनमा उभिएको साबिक माओवादी केन्दको मुसिकोट नगर समितिले दुई तिहाई नगर समिति नेपाली कम्युनिष्ट पार्टीको पक्षमा रहेको जनाएको छ । प्रभाकर मुसिकोट नगरपालिकावासी नै हुनुहुन्छ ।  

सोमबार नगर समितिका अध्यक्ष धनबहादुर खड्का बसन्त र सचिव अनिल बुढाले एक विज्ञप्ती जारी गरेर नगर समितिका दुई तिहाई पदाधिकारी र सदस्यहरु प्रचण्डको लाईनमा रहेको जनाउनुभएको छ । आईतबार नेपाली कम्युनिष्ट पार्टी पक्षधर कार्यकर्ताहरुको बैठक भएको र त्यसका ४० जना पदाधिकारी तथा सदस्यहरु रहेको उहाँहरुको दाबी रहेको छ । सोहि बैठकमा पदाधिकारी हेरफेर गरिएको थियो । सात जना पदाधिकारीहरु मध्य चार जना पदाधिकारी भने जनार्दन शर्माकै पक्षमा रहेको बताईन्छ । 

माओवादी केन्द्रको मुसिकोट नगर समितिका अध्यक्ष दलबहादुर खड्का जनार्दन शर्माको लाईनमा उभिएपछि नगर अध्यक्षको जिम्मेवारी पाउनुभएका अध्यक्ष धनबहादुर खड्का बसन्तले भन्नुभयो, “बाम ध्रुविकरण तथा एकताको पक्षमा रहेका नेपाली कम्युनिष्ट पार्टी लाईनका नेता कार्यकर्ताहरु सहभागी भएर कात्तिक २५ गतेदेखि ३० गतेसम्म जिल्लाका ६ वटै पालिकाहरुमा विस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भएका छन् । सबै कार्यक्रमहरुबाट आम जनसमुदाय र पार्टिपंक्ति एकताको पक्षमा रहेको देखिएको छ ।”

उहाँले २०८१ पुस १३ गतेको तेस्रो अधिवेशनबाट ५५ जनाको निर्वाचित मुसिकोट नगर समिति रहेकोमा ४० जना पदाधिकारी तथा सदस्यहरु एक ढिक्कासहित एकताको पक्षमा रहेको र बाँकि पदाधिकारी तथा सदस्यहरुसँग छलफल गरिरहेक जनाउनुभयो । 

मुसिकोट नगर समितिको बैठकले बृहत बाम ध्रुविकरण तथा पार्टी एकताको पदलकदमी तथा निर्णयलाई स्वागत गर्दै एकताको सन्देशलाई आम कार्यकर्ता, शुभचिन्तक र जनतासम्म लैजाने निर्णय गरेको सचिव अनिल बुढाले जानकारी दिनुभयो । 

अध्यक्ष तथा सचिवद्वारा सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय समितिबाट प्राप्त हुने नीति, निर्देशन तथा कार्यक्रम कार्यान्वयका लागि एकाकार भएर अगाडी बढ्ने प्रतिबद्धता गरिएको छ । विज्ञप्तीमा अपिल गरिएको “हामी विचलित भएका छैनौ, एकताबद्ध छौ र निरन्तर विकास र समृद्धिको यात्रामा विगतको विरासतलाई पछ्याउँदै गणतन्त्र र संविधानको रक्षाका लागि कटिबद्ध छौ ।”

ca79894a-d1c8-46b2-8f9d-41104bef0eca-1763435098.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

आठ पार्टीबीच आज एकता हुँदै