नेभिगेशन
खेल

सानीभेरीमा मसाल बालेर रनिङ शिल्ड सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । 

आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले मसाल बालेर शिल्डको उद्घाटन गर्नु भएको हो। ‎सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ को बेलटापु खेल मैदानमा सुरु भएको शिल्ड कार्तिक २५ गतेसम्म सञ्चालन हुने बताईएको छ । 

‎गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशक समितिको कार्तिक २० गतेको निर्णय अनुसार आज देखि शिल्ड सञ्चालन हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ‎शिल्डमा पालिकाभरिका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ । 

शिल्डमा दौड, उफ्रने र फ्याँक्ने, भलिबल, तेक्वान्दो र एकल पुम्सेमा प्रतिस्पर्धा हुने छ । छात्र, छात्रा भलिबल, छात्र, छात्रा  १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार दौड मिटर तथा विभिन्न दुरीको रिले दौडमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने छन् । ‎त्यस्तै छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, तेक्वान्दो र एकल पुम्सेमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

‎सानीभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत तिलक केसीले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षयता सामाजिक विकास संयोजक शेरबहादुर खड्काको रहेको थियो । जसमा ‎प्रमुख अतिथि सानीभेरी गाउँपालिका अध्यक्ष  विर्ख बहादुर विष्ट, विशेष अतिथि सानीभेरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी, सानीभेरी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अधिकृत भुपालसिं विष्ट,  ११ वटा वडाका वडाअध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

‎यो शैक्षिक सत्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने सानीभेरी जिल्लाको पहिलो स्थानीय तह बनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्